काठमाडौं । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जा दुरुपयोगमा मुछिएका बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई कारबाही गरेको छ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा यस्तो गतिविधिमा संलग्न रहेका दुई सञ्चालक र १५ सीईओमाथि केन्द्रीय बैंकले कारबाहीको डण्डा चलाएको हो ।
कारबाहीमा परेका बैंक र वित्तीय संस्थामध्ये ७ विकास बैंक र ८ वित्त कम्पनीका सीईओ रहेका छन् । राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले साउनदेखि पुस मसान्तसम्म दुई सञ्चालक र १५ सीईओलाई कारबाही गरेको हो ।
दुरुपयोगमा संलग्न बैंक र वित्तीय संस्था
कारबाहीमा परेका सञ्चालकहरू पोखरा फाइनान्स र सेन्ट्रल फाइनान्सका हुन् । यस्तै, विकास बैंकतर्फ लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक, साल्पा विकास बैंक, गरिमा विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक परेका छन् ।
वित्त कम्पनीतर्फ सहुलियतपूर्ण कर्जा सम्बन्धी मार्गदर्शन र केन्द्रीय बैंकको निर्देशन उल्लंघन गर्ने समृद्धि फाइनान्स कम्पनी, पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, आइसीएफसी फाइनान्स, जानकी फाइनान्स कम्पनी, सेन्ट्रल फाइनान्स, रिलायन्स फाइनान्स र गुडविल फाइनान्सका सीईओहरू कारबाहीमा परेका छन् ।
सहुलियतपूर्ण कर्जाको दुरुपयोगको अध्ययन
नेपाल राष्ट्र बैंकले पुनरकर्जा, व्यावसायिक निरन्तरता कर्जा र सहुलियतपूर्ण कर्जाको सदुपयोगको अध्ययन गर्न विज्ञ नियुक्त गरेको थियो । उक्त अध्ययन प्रतिवेदनमा यी संस्थाहरूबाट प्रवाह भएका कर्जामा दुरुपयोग भएको वा दुरुपयोगको आशंका गरिएको उल्लेख छ । सम्बन्धित विकास बैंक र वित्त कम्पनीहरूले आफूले दिएका सहुलियतपूर्ण कर्जा सदुपयोग नभएको स्वीकार गरेका थिए ।
केन्द्रीय बैंकको कारबाही
नेपाल राष्ट्र बैंकले राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम कारबाही गरेको हो । त्यसैगरी, सेन्ट्रल फाइनान्सले नियामकीय मौज्दात रकम पूरा नगरेको पाइएपछि केन्द्रीय बैंकले संस्थालाई ९,१०६ रुपैयाँ जरिवाना तिराएको छ । राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाको दुरुपयोग नियन्त्रण गर्न थप कडाइका साथ निगरानी र कारबाही जारी राख्ने जनाएको छ ।




