धनुषा । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका विद्युत् चोरीमुक्त क्षेत्र घोषणा गरिएको छ । धनुषाधाम नगरपालिकाको पहल तथा नेपाल विद्युत् प्राधिकरणको संयोजनमा शनिबार एक विशेष कार्यक्रममार्फत नगरपालिकालाई विद्युत् चोरीमुक्त क्षेत्र घोषणा गरिएको हो ।
उक्त घोषणा कार्यक्रम नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले संयुक्त रूपमा गरे । कार्यक्रमका क्रममा धनुषाधाम नगरपालिकाभित्र बसोबास गर्ने आर्थिक रूपमा विपन्न तथा पिछडिएको वर्गका परिवारलाई नि:शुल्क विद्युत् मिटर वितरण गरिएको छ ।
विद्युत् चोरीविरुद्ध कडाइ
नेपाल विद्युत् प्राधिकरणका अनुसार ऊर्जामापक यन्त्र (मिटर) प्रयोग नगरी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा विद्युत् लाइन तान्ने (हुकिङ), मिटर छली विद्युत् प्रयोग गर्ने, मिटर तोडफोड वा क्षति पुर्याउने कार्यलाई कानुनत: विद्युत् चोरी मानिन्छ । विद्युत् चोरीकै कारण प्रत्येक वर्ष ठूलो मात्रामा धनजनको क्षति भइरहेको छ ।
प्राधिकरणले विद्युत् चोरी नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । मिटर किन्ने आर्थिक क्षमता नभएकाहरूलाई प्राधिकरणले नि:शुल्क मिटर वितरण गर्दै आएको छ । वितरण केन्द्रहरूमार्फत विपन्न वर्गका परिवारलाई ५-३० एम्पिएर क्षमताको सिंगल फेज इनर्जी मिटर, एमसीबी बक्ससहितको मिटर नि:शुल्क उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
प्राधिकरणको प्रतिबद्धता
कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले विद्युत् चोरी रोक्न प्राधिकरणले उच्च प्राथमिकता दिइरहेको बताए । उनले भने, “धनुषाधामले विद्युत् चोरीमुक्त नगर घोषणा गरी ठूलो चुनौती लिएको छ । विद्युत् चोरी सामाजिक अपराध हो, यसको नियन्त्रणका लागि प्राधिकरणले आवश्यक प्राविधिक कामलाई उच्च प्राथमिकतामा राखेर अघि बढिरहेको छ ।”
उनले देशभरका दुर्गम तथा विद्युत् नपुगेका स्थानहरूमा विद्युत् विस्तारको अन्तिम चरणमा पुगेको जानकारी गराउँदै भने, “उज्यालो अभियान अन्तर्गत विद्युत् पुगेका ठाउँमा गुणस्तरीय आपूर्ति सुनिश्चित गर्दै नपुगेका विकट ठाउँमा प्राथमिकताका साथ विद्युत् विस्तार गरिरहेका छौँ । कर्मचारीलाई तलब नखुवाएरै भएपनि घर घरमा विद्युत् पुर्याउनेछौँ ।”
मधेश प्रदेशमा विद्युत् आपूर्तिको सुधार
प्राधिकरणले मधेश प्रदेशमा प्रसारण तथा वितरण पूर्वाधार सुदृढीकरणका लागि झन्डै ४० अर्ब रुपैयाँका विभिन्न आयोजना सञ्चालन गरिरहेको छ । मधेश प्रदेशमा चालू आर्थिक वर्ष २०८१/८२ को पुससम्म वितरणतर्फ विद्युत् चुहावट १४.२० प्रतिशत रहेको छ, जसलाई चालू आवमा ११.९ प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ ।
विद्युत् चोरी नियन्त्रण तथा महसूल संकलन सुधार गर्न प्राधिकरणले मिटर वाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने, स्टक युनिट ग्राहकको पहिचान गरी रिडिङ गर्ने जस्ता अभियान सञ्चालन गरिरहेको छ ।
विद्युतीकरणको सम्भावना र चुनौती
धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले कार्यक्रमलाई सम्बोधन गर्दै गार्हस्थ्य तथा सिँचाइ क्षेत्रमा विद्युतीकरणको महत्व उल्लेख गरे । उनले खाना पकाउने ग्याँस विस्थापित गर्न विद्युतीय चुलोमा अनुदानको व्यवस्था गर्नुपर्ने माग गरे ।
कार्यक्रममा विद्युत् चोरीविरुद्ध सचेतना जगाउन नाटकसमेत प्रस्तुत गरिएको थियो । प्राधिकरणले हरेक वितरण केन्द्रलाई प्रत्येक वर्ष विद्युत् चुहावट नियन्त्रणको लक्ष्य दिई योजनाबद्ध रूपमा कार्यान्वयन गरिरहेको छ । गत वर्ष प्रणालीको विद्युत् चुहावट १२.७३ प्रतिशतमा झारिएको थियो, जुन आठ वर्षअघि २५.७८ प्रतिशत थियो ।
नेपाल विद्युत् प्राधिकरणले स्थानीय सरकार तथा सरोकारवालासँग सहकार्य गर्दै विद्युत् चोरी नियन्त्रण र विद्युतीकरण विस्तारलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।






