काठमाडौं । ‘सातौं नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो’ आगामी २०८१ फागुन २, ३ र ४ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।
नेपालका कृषि उद्यमी, व्यवसायी तथा विदेशी कम्पनीहरूको सहभागिता रहने उक्त एक्स्पो मिडिया स्पेस सोलुसन्स प्रा.लि., फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेन्ट्स प्रा.लि. तथा एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रा.लि.को संयुक्त आयोजनामा हुन लागेको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको प्रमुख प्रवर्द्धक भूमिका रहेको यस प्रदर्शनीमा नेपाल गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल पोल्ट्री महासंघ, राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. तथा राष्ट्रिय कृषक समूह महासंघ नेपाल सहआयोजकका रूपमा रहनेछन् ।
नि:शुल्क प्रवेश, कृषि क्षेत्रलाई यान्त्रीकीकरणमा टेवा
प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउने साना औजार, आधुनिक कृषि मेशिनरी, डेरी उद्योग तथा पशुपंक्षीपालन उपकरणहरू प्रदर्शनी गरिने छ । आयोजकका अनुसार, नेपालमा कृषि यान्त्रीकीकरणलाई प्रवर्द्धन गर्न यो एक्स्पो कोसेढुंगा सावित हुने विश्वास लिइएको छ ।
सबैका लागि नि:शुल्क प्रवेशको व्यवस्था गरिएको प्रदर्शनीबाट नेपालका किसान तथा व्यवसायीहरूले नवीनतम प्रविधि र सेवाहरूको पहिचान गर्न तथा कृषि उत्पादन वृद्धि गर्दै आत्मनिर्भर बन्ने अवसर प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
कृषि प्रविधिका विभिन्न स्टल रहने
प्रदर्शनीमा विभिन्न कृषि विधा जस्तै कुखुरापालन, माछापालन, बाख्रापालन, गाई-भैंसी पालन, डेरी उद्योग, कृषि मेसिनरी औजार, भेटेरिनरी सेवा तथा खाद्य प्रविधि सम्बन्धी स्टलहरू रहनेछन् ।
प्रदर्शनी स्थललाई “प्रदर्शनी भित्रको प्रदर्शनी”को रूपमा बिभिन्न समूहमा वर्गीकृत गरिएको छ, जसका कारण अवलोकनकर्ताहरूले आफ्नो चाहना, आवश्यकता र चासो अनुसार सम्बन्धित स्टलमा गएर जानकारी लिन सक्नेछन् ।
देशभरिका कृषक, उद्यमी र अनुसन्धानकर्ताको उपस्थिति रहने
यस प्रदर्शनीमा देशभरका अगुवा किसान, कृषक, नगरपालिका तथा गाउँपालिकाका प्रतिनिधि, नीति निर्माता, व्यवसायी, उद्यमी, व्यापारी, आयातक, निर्यातकर्ता, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, बैंक तथा वित्तीय संस्था, अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थी तथा शिक्षण संस्थाहरूको सहभागिता रहनेछ ।
नेपाल गाउँपालिका राष्ट्रिय महासंघ तथा राष्ट्रिय कृषक समूह महासंघको विशेष पहलमा देशभरका किसानहरूले मेलाको अवलोकन गर्नेछन् । साथै, आधुनिक कृषि प्रविधिको अध्ययन, अनुसन्धान तथा नयाँ नवीनतम प्रविधिहरूको अनुसरण गर्ने अवसर यस एक्स्पोले दिने आयोजक संस्थाहरूले बताएका छन् ।






