काठमाडौं । दार्चुला घटनालाई लिएर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले निकालेको विज्ञप्तिमा दार्चुला जिल्लाको व्यास गाउँपालिका-२ मालघाट भएको घटनालाई पार्टीले गम्भीरताका साथ लिएको उल्लेख छ ।
‘सीमा क्षेत्रमा भारत सरकारका सुरक्षा र प्रशासनिक निकायहरुले नेपाल राष्ट्र र नेपाली जनताकाविरुद्ध विगतमा घटाइएका जति पनि घटनाहरु छन् त्यसमा भारतीय साम्राज्यवादी शासकवर्गको दृष्टिकोण र व्यवहार उदाङ्गीदै आएको छ । जयसिंह धामीको घटना पनि त्यसैको उपज हो । यसर्थ तुइन घटनाको वास्तविक छानविन, दोषीमाथि कडा कारबाही, पीडितलाई न्याय र भारतीय शासकहरुको हस्तक्षेपकारी रवैयाकाविरुद्ध देशव्यापी संघर्षमा उत्रिन पार्टीपंति र आम नेपाली जनतामा हाम्रो पार्टी जोडदार आह्वान गर्दछ ।’, विज्ञप्तिमा भनिएको छ ।
महाकाली नदी तर्न तुइनमा झुण्डिएकै बेला भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन फुकाल्दा दार्चुलाको व्यास गाउँपालिका–२ राङ्थाङ बस्तीका ३५ वर्षीय जयसिंह धामी शुक्रबार बेपत्ता भएका थिए ।






