बागलुङ । बागलुङ जिल्लाका काठेखोला गउँपालिका–७ रेश पीपल डाँडाका मीन थापा र गिरी थापा दुई भाइ मात्र होइन । पेशाका हिसाबले दुवै जना शिक्षक पनि, तर गिरी थापा २०५३ सालमा शिक्षक पेसा छाडेर कतार जानुभयो । कतारमा १५ वर्ष बसेर नेपाल फर्कनुभएका गिरीले भाइ मीन थापासँगै मिलेर बहुआयामिक व्यवसाय गर्ने सोच बनाउनुभयो ।
मीन थापा रेश नुन्थला माविमा अध्यापन गराउँदै व्यवसायलाई पनि अघि बढाउने दाइको उद्देश्यमा साथ दिन तयार हुनुभयो । २०६८ सालमा दुई भाइ मिलेर फर्निचर सञ्चालन गर्नुभयो । फर्निचर स्थापना गरेको १० वर्ष भइसक्यो । अहिले थापा दाजुभाइकहाँको सामूहिक प्रयासमा बाख्रा, लोकल कुखुरा, बङ्गुर, बँदेलपालन तथा व्यावसायिक तरकारी खेती छ । कुटानी–पिसानी मेलसमेत छ ।
दाइले विदेशबाट फर्केपछि गाउँमै व्यवसाय गर्ने सोच बनाएको र त्यसमा आफूले साथ दिएको मीन थापा बताउनुहुन्छ । “सुरुमा हामी दुवै शिक्षक थियौँ, दाइ छोडेर विदेश जानुभयो, मैले निरन्तर शिक्षण पेसा गर्दै आए, उहाँ गाउँ फर्केर आएपछि आफ्नै व्यवसाय गरौँ भन्नु भो र सुरु गरियो, दाइले दिनभर व्यवसायलाई समय दिनुहुन्छ, म बिहान–बेलुका समय दिन्छु”, उहाँले भन्नुभयो, “बँदेलका र बङ्गुरका पाठापाठी बिक्रीलाई बढी जोड दिएका छौँ, बाख्रा र कुखुरामा भर्खर लागानी गरेका हौँ ।”
अहिले तीनवटा माऊ बँदेल र ४० वटा बङ्गुर छन् । अहिले ३० वटा बङ्गुरबाट पाठापाठी बिक्रीका लागि तयारी अवस्थामा छ । बङ्गुरका पाठापाठी मात्रै बेचेर वार्षिक तीनदेखि चार लाख कमाउने गरेको गिरी थापाले बताउनुभयो । “फर्निचर उद्योगबाट निस्केका काठ सदुपयोग गर्न बङ्गुरको खोर निर्माण गरेका थियौँ तर अहिले बँदेल र बङ्गुर व्यावसायिक रुपमा पालेका छौँ”, उहाँले भन्नुभयो, “विदेशमा भन्दा स्वदेशमा राम्रो कमाई हुँदो रहेछ अहिले थोरै भए पनि वार्षिक १०/१२ लाखको कारोबार हुँदै आएको छ ।”
दुई भाइले पीपलडाँडा ताजा तरकारी तथा पशुपालन फनर्म दर्ता गरेर कुखुरा, बाख्रा र तरकारीसमेत उत्पादन गर्दै आएका छन् । अहिले दर्जनभन्दा बढी बाख्रा मासुका लागि बागलुङ बजारमा बिक्री गरेको र फार्ममा आठ बाख्रा, सय लोकल कुखुरा छन् भने दुई रोपनी बारीमा लटरम्म सिमी फलेको छ ।
मौसमी तरकारी मात्रै उत्पादन गर्दै आएका दाजुभाइले बेमौसमी तरकारी उत्पादनलाई समेत जोड दिने योजना बनाएको थापाद्वय बताउनुहुन्छ । उत्पादन गर्न सके खसी, बोका, बँदेल, बङ्गुर, कुखुरा र फर्निचरका सामग्रीको बजारीकरणको कुनै समस्या नभएको उनीहरुको भनाइ छ ।
कुटानी–पिसानी, बाख्रापालन तथा कुखुरापालनमा परिवारका अन्य सदस्यहरुले समेत सहयोग गर्दै आएको थापाले बताउनुहुन्छ । त्यसबाहेक फर्निचरमा दुईजना युवालाई रोजगारीसमेत दिँदै आएका छन् । बङ्गुरको मासुका लागि रु चार सय प्रतिकेजी र पाठापाठीलाई पाँच हजारमा बिक्री गर्दै आएका उनीहरुले २०७२ सालमा पोखराबाट बँदेल प्रजातिको बङ्गुर लिएर पाल्दै आएका छन् ।
बङ्गुरको भन्दा बँदेलको मासु निकै स्वादिष्ट भएकाले राम्रै मूल्यमा बिक्री गर्ने गरेको उहाँको भनाइ छ । बँदेलको मासु प्रतिकेजी ६०० मा बिक्री गर्दै आएको र पाठापाठीलाई ६ हजारमा बिक्री गर्दै आउनुभएको छ ।
दुई भाइ मिलेर गाउँमै जागिर खाँदै व्यावसायिक फर्निचर, पशुपालन तथा तरकारी उत्पादनमा लाग्नु अन्यलाई समेत उदाहरणीय कार्य भएको काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले बताउनुभयो । रासस






