काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद विमला वली खत्रीले आफूलाई मुख्यमन्त्री निवासमा बन्धक बनाएको आरोप लगाएकी छिन् । पत्रकार सम्मेलन गरेर उनले साउन १६ गतेदेखि २० गतेसम्म बन्धक बनाएको आरोप लगाएकी छिन् ।
‘म अस्पताल जान तयार भएकी थिएँ,’ सांसद खत्रिले भनेकी छिन्, ‘मलाई नेपालगञ्ज भनेर बुटवल ल्याइयो । सिधै मुख्यमन्त्री निवासमा पुर्याएर मलाई बन्धक बनाइयो । अमिलिया आएर खाना खाएपछि नेपालगञ्जको साटो बुटवल पुर्याइएको थियो ।’
केही दिन अघिमात्र एमालेमा छु भनेर बाहिरिएको कुरा झुटो भएको वलीको भनाइ छ । वलीले मुख्यमन्त्रीसँग भेट गरेपछि पनि आफूलाइ एमालेमा आउन दबाब दिइएको बताएकी छिन् । उनले आफू २० गते पौने १२ बजे ट्वाइलेटको चप्पल लगाएर भाग्दै नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आएको प्रतिक्रिया दिएकी छिन् ।
‘एमालेबाट यस्तो अराजनैतिक काम होला भन्ने चिताएको पनि थिएँन ।’ उनले भनिन्, ‘राजनीतिक र सरकारको खेलमा पहिलो पटक मैले यस्तो अवस्था ब्यहाेर्नु परेको हो ।’






