काठमाडौं । एमाले–कांग्रेस गठबन्धनको दुई तिहाइ बहुमतसहितको सरकार अर्थतन्त्र सुधार गर्ने दाबी गर्दै आएपनि राजश्व संकलनमा गिरावट आउनु र आर्थिक गतिविधि सुस्ताउनु गम्भीर चिन्ताको विषय बनेको छ ।
राजश्व संकलनलाई प्रभावकारी बनाउन सरकारले भन्सार, कर र राजश्व कार्यालयहरूमा कर्मचारी परिवर्तन गरेपनि राजश्व अनुसन्धान विभाग, भन्सार विभाग र आन्तरिक राजश्व विभाग पुरानै ढर्रामा चलिरहेको देखिन्छ । नयाँ कर्मचारी आएपनि संचालनको शैली उस्तै रहँदा राजश्व संकलन थप कमजोर हुने संकेत देखिएको छ ।
राजश्व छलीको मौलाउँदै गएको प्रवृत्ति
उद्योगी–व्यापारीहरूले भन्सार छली गरेर अवैध रूपमा ठूला परिमाणमा सामान भित्र्याउने क्रम रोकिएको छैन । ट्रकका ट्रक सामान भित्र्याएर कागजमा केवल केही थान सामग्री मात्र देखाउने प्रवृत्ति कायमै छ । राजश्व छली विशेष गरी मोबाइल, सुन, जुत्ता, कपडा, काजु, पेस्ता, मरिच, प्याज, खेलौना र कस्मेटिक्स जस्ता सामग्रीमा बढी हुने गरेको छ ।
यस्तो गतिविधिमा केवल उद्योगी–व्यापारी मात्र नभई सरकारी कर्मचारी, सुरक्षाकर्मी र राजनीतिक दलका नेताहरू समेत संलग्न हुने गरेको स्रोतहरूको दाबी छ । यति मात्र होइन, कतिपय व्यवसायीहरूले अखाद्य वस्तुहरू मिसावट गरी उपभोक्ताको स्वास्थ्यमा समेत खेलवाड गरिरहेको पाइएको छ ।
विकास निर्माण र आर्थिक गतिविधिमा गिरावट
राजश्व संकलन कमजोर हुना साथ विदेशी दातृ निकायहरूबाट आउने सहयोग रकम पनि घट्न थालेपछि देशको आर्थिक संकट थप जटिल बन्दै गएको छ । यसको प्रत्यक्ष असर विकास निर्माणका परियोजनामा परेको छ, जसका कारण निर्माण व्यवसायीहरूले भुक्तानी नपाउने, मजदूरहरू पारिश्रमिक नपाउने र अन्तत: बजारमा पैसाको अभाव महसुस हुने अवस्था सिर्जना भएको छ ।
सरकारका लागि चुनौती : राजश्व संकलन सुधार गर्ने उपाय खोज्नैपर्ने
राजश्व संकलन सुधार गर्न सरकारले राजस्व प्रणालीलाई पारदर्शी बनाउने, प्रभावकारी निगरानी गर्ने र भ्रष्टाचार नियन्त्रणमा कडाइ अपनाउने आवश्यकता छ । वर्तमान परिस्थितिलाई सुधार नगरेमा चालु आर्थिक वर्षमा देशको आर्थिक स्थिति अझै जटिल हुने, विकास कार्यहरू थप प्रभावित हुने र आर्थिक स्थिरता गुम्ने खतरा रहने देखिन्छ ।
सरकारको नीति कार्यान्वयनमा देखिएको ढिलासुस्ती र अनियमितताले आर्थिक सुधारको बाटो अझै कठिन बनाइरहेको छ । यस कारण सरकार तत्काल प्रभावकारी नीति ल्याएर राजश्व संकलनमा सुधार ल्याउन अग्रसर हुनुपर्छ, अन्यथा आर्थिक संकट थप गहिरिने निश्चित छ ।






