सर्लाही । सर्लाहीमा सिंचाइ सुविधा भएका क्षेत्रका किसानहरूले चैते धान रोपाइँ तीव्र रूपमा अघि बढाएका छन् । कुलो तथा नहरको पानी उपलब्ध हुने साथै पम्पसेटको सहायताले सिंचाइ गर्न सकिने स्थानहरूमा किसानहरू उत्साहित भएर खेतीमा लागेका छन् ।
पछिल्लो वर्षदेखि जिल्लामा चैते धान खेतीको क्षेत्रफल निरन्तर विस्तार हुँदै आएको छ । अघिल्लो वर्ष ५० हेक्टर क्षेत्रमा यो खेती गरिएको थियो । केही समय रोकिएको यो खेती पुन: पम्पसेट र बोरिङ प्रविधिको प्रयोग गर्दै सुरु गरिएको हो । वैशाख दोस्रो सातासम्म रोपाइँ सम्पन्न हुने अनुमान गरिएको छ ।
यसैबीच, गहुँ काट्ने सिजन सुरु भएसँगै किसानहरू गहुँ भित्र्याउने कार्यमा सक्रिय छन् । गहुँबाली उठेपछि थप किसानहरू चैते धान खेतीतर्फ आकर्षित हुने अनुमान गरिएको छ । पूर्व-पश्चिम राजमार्गदेखि दक्षिणतर्फ रहेका सिंचाइ सुविधा प्राप्त क्षेत्रहरूमा बोरिङ र पम्पसेटको प्रयोग गरी खेती विस्तार भइरहेको छ ।
गत वर्षको तुलनामा केही सुक्खा अवस्था रहेपनि किसानहरू उत्साहपूर्वक रोपाइँ गरिरहेका छन् । अघिल्लो वर्ष उत्पादन राम्रो भएकाले यस वर्ष अझ राम्रो उपज हुने अपेक्षा गरिएको छ ।
नगर क्षेत्रका विभिन्न स्थानहरूमा पनि रोपाइँ सुरु भइसकेको छ । सिंचाइ सुविधा सहज भएमा उत्पादनमा वृद्धि हुने आशा गरिएको छ । अनुकूल मौसम र पर्याप्त पानी उपलब्ध भएमा किसानहरूले राम्रो उत्पादन हुने विश्वास व्यक्त गरेका छन् ।






