सर्लाही । सर्लाहीको हरिवन नगरपालिका वडा नं। ९ सुकेपोखरीमा रहेको एक पोखरीमा अचानक माछा मर्दा करिब ५ लाखभन्दा बढीको क्षति भएको छ । स्थानिय जय माँ सन्तोषी कृषी महिला समूहले संरक्षण गरी माछा पाल्दै आएको पोखरीमा शुक्रबार राती अचानक माछा मरेको थियो । नगरपालिकाको पोखरी ३ वर्षदेखि महिला समूहले संरक्षण गरी माछा पाल्दै आएका थिए ।
१० कट्ठामा पानी भएको पोखरीमा साना ठूला गरी करिब १० क्वीन्टल भन्दा बढी माछा मरेको समूहले जनाएको छ । पोखरीको माछा मर्दा करिब ५ लाखभन्दा बढीको क्षति भएको समूहकी सचिव पवन रेग्मीले बताएकी छिन् । माछा कसरी मर्यो अहिलेसम्म खुल्न सकेको छैन । प्रहरीले पानी चेकजाँचको लागि लगेको छ । ल्याबबाट रिपोर्ट आएपछि मात्र कारण पत्ता लाग्ने रेग्मीले बताइन् ।
माछा किन मरेको हो भनेर भनि सक्नु पर्ने अवस्था छैन । जंगल झाड बनेको पोखरी करिब ३ वर्ष पहिले हामीलाई नगरपालिकाले संरक्षण गरी माछा पाल्नु भनेर दिएको थियो । महिलाहरु मिलेर सफा गरी ३ वर्षदेखि हामी माछा पाल्दै आएका थियौं। कहिले केही भएको थिएन । शुक्रबार बेलुकासम्म केही भएको थिएन । शनिबार बिहान आएर हेर्दा अचानक माछा मरेको देखें ।
पोखरीबाट समूहलाई ठूलो सहयोग पुगेको थियो । वर्षेनी आम्दानी हुन्थ्यो । त्यहाँबाट आएको आम्दानीले सामाजिक कार्यमा लगाउँदै आएको थिएँ । संस्था वा कसैले व्यक्तिगत रुपमा आम्दानीलाई प्रयोग गरेको थिएन । टुहुरा, वृद्ध वृद्धा तथा समाजिक कार्यमा पोखरीबाट आएको पैसा खर्चिंदै आएको थिए । तर, कसरी आज त्यस्तो भयो केही थाहा नभएको सचिवले बताइन् ।






