एजेन्सी । स्कटल्याण्डबाट एक अनौठो र चकित पार्ने घटना सार्वजनिक भएको छ, जसले धेरैलाई स्तब्ध बनाएको छ । एक युवती, क्रिस्टिना मार्क, विवाहको तयारीमा व्यस्त थिइन् । उनी आफ्ना मंगेतासँग खुसीसँग भविष्यको योजना बुन्दै थिइन् । तर, जब उनले मंगेताको बुबालाई भेटिन्, उनको संसार एकाएक भत्कियो । कारण, ती बुबा अरू कोही नभएर उनको पूर्व प्रेमी थिए ।
पोडकास्टमार्फत आफ्नो अनुभव बाँड्दै क्रिस्टिनाले बताइन् कि केही समय अघि अनलाइन डेटिङ एपमार्फत उनले एक युवकसँग सम्पर्क गरेकी थिइन् । कुराकानी बढ्दै गयो, मित्रता गहिरियो र अन्ततः प्रेममा परिणत भयो । समयसँगै उनीहरूले विवाह गर्ने निर्णय पनि गरे ।
सबै कुरा सपनाझैँ लागिरहेको थियो । तर, एक दिन युवकले उनलाई आफ्ना आमाबुवासँग चिनाउने निर्णय गरे । क्रिस्टिना निकै उत्साहित थिइन् । तर, जब उनले युवकका बुबालाई पहिलो पटक देखिन्, उनको खुशी एकाएक स्तब्धतामा बदलियो । ती व्यक्ति अरू कोही नभई उनको विगतका प्रेमी थिए, जसलाई उनी केही समयअघि डेट गरिसकेकी थिइन् ।
उनका अनुसार ती व्यक्ति उमेरले यति धेरै ठूलो नदेखिएकाले त्यो सम्बन्ध सुरु गर्दा उनले त्यति गहिरो सोचिनन् । तर अहिले त्यो सम्बन्ध मंगेतासँगको भविष्यमा बाधक बन्दै गएको छ । यो अनपेक्षित खुलासापछि युवती गहिरो मानसिक द्वन्द्वमा परेकी छन् ।
एकातिर उनी आफ्नो मंगेतासँगको प्रेमलाई गुमाउन चाहँदिनन्, अर्कोतर्फ विगतको यस्तो तितो सत्यले उनलाई असहज बनाइरहेको छ । परिवारमा समेत तनाव र अन्यौलता उत्पन्न भएको छ । अब यो सम्बन्ध जारी रहनेछ वा छैन भन्ने निर्णय दुवैले मिलेर गर्नुपर्नेछ । तर, निश्चय नै यो घटना एउटा असाधारण प्रेम कथा बनेको छ ।






