जनकपुरधाम । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ सकिन अब अढाई महिना बाँकी रहँदा पनि पूँजीगत बजेटको ७ प्रतिशत पनि खर्च गर्न सकेको छैन । २७ अर्ब ९४ करोड रुपैयाँभन्दा बढी पूँजीगत बजेट विनियोजन गरिएकोमा हालसम्म जम्मा ६.३४ प्रतिशत अर्थात् १ अर्ब ७७ करोड रुपैयाँ मात्र खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय, जनकपुरधामले जनाएको छ ।
सबै मन्त्रालयमध्ये अर्थ मन्त्रालयले ३७.६४ प्रतिशत खर्च गरेर अग्रता लिएको छ भने भौतिक पूर्वाधार मन्त्रालय, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका मन्त्रालयहरूले अत्यन्त न्यून खर्च गरेका छन् । खेलकुद मन्त्रालयले त जम्मा ०.२७ प्रतिशत खर्च गरेको छ ।
कुल ४३ अर्ब ८९ करोड विनियोजित बजेटमध्ये हालसम्म १२.९८ प्रतिशत मात्र खर्च भएको छ । अब बाँकी समयभित्र ८७ प्रतिशतभन्दा बढी बजेट खर्च गर्नुपर्ने दबाब प्रदेश सरकारमाथि छ । विकास निर्माणका कार्यहरूमा देखिएको यो ढिलासुस्तीले प्रदेशको कार्यक्षमता र सार्वजनिक सेवा प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ ।






