काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेका छन् । बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले आगामी वर्षको लागि विनियोजन र स्रोत व्यवस्थापनको अनुमान सार्वजनिक गरेका हुन् ।
उनका अनुसार चालु खर्चतर्फ ११ खर्ब ९० अर्ब ९८ करोड रुपैयाँ (६०.१ प्रतिशत), पुँजीगत खर्चतर्फ ४ खर्ब ७ अर्ब ९९ करोड रुपैयाँ (२०.८ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ (१९.१ प्रतिशत) विनियोजन गरिएको छ । यो बजेट चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ५.६ प्रतिशतले तथा संशोधित अनुमानको तुलनामा १८.२ प्रतिशतले बढी हो ।
कुल बजेटमध्ये प्रदेश र स्थानीय तहलाई वित्तीय हस्तान्तरणका लागि ४ खर्ब १७ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरिएको छ । राजस्व र वैदेशिक सहायता परिचालनपछि अपुग रहने ३ खर्ब ६२ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट व्यवस्थापन गरिने अर्थमन्त्री पौडेलले जानकारी दिए ।






