सर्लाही । आर्थिक वर्ष २०८२/८३ का लागि सर्लाही जिल्लाका २० वटै स्थानीय तहले केन्द्र सरकारबाट झन्डै २३ अर्ब ४३ करोड रुपैयाँ बराबरको अनुदान प्राप्त गरेका छन् । संघीय सरकारले समानीकरण, सशर्त, विशेष र सम्पूरक अनुदान शीर्षकमा उक्त रकम विनियोजन गरेको हो । सर्लाहीका ११ नगरपालिका र ९ गाउँपालिकामध्ये सबैभन्दा बढी अनुदान ईश्वरपुर नगरपालिकाले पाएको छ ।
ईश्वरपुर नगरपालिकाले समग्रमा ७२ करोड २३ लाख रुपैयाँ बराबरको अनुदान प्राप्त गरेको छ । यसमा समानीकरण अनुदान अन्तर्गत २९.५४ करोड, सशर्त अनुदानमा ४२.८२ करोड, विशेष अनुदानमा २ करोड ७५ लाख र सम्पूरक अनुदानमा २२ लाख ९० हजार रुपैयाँ समावेश छन् ।
त्यस्तै, दोस्रो स्थानमा गोडैता नगरपालिकाले ५८ करोड ५० लाख, मलंगवाले ५० करोड ६६ लाख र हरिपुर नगरपालिकाले ४८ करोड ८० लाख रुपैयाँको अनुदान पाएका छन् । गाउँपालिकाको हकमा सबैभन्दा बढी चकघट्टा गाउँपालिकाले ३५ करोड ६२ लाख रुपैयाँ पाएको छ । साथै, रामनगर, पर्सा, विष्णु र चन्द्रनगर गाउँपालिकाले पनि ३० करोडभन्दा बढीको अनुदान प्राप्त गरेका छन् ।
सर्लाही जिल्लाका सबै स्थानीय तहले अनुदानका विभिन्न शीर्षक अन्तर्गत निम्नानुसार रकम प्राप्त गरेका छन् :
– समानीकरण अनुदान : ५८ करोड ८९ लाख
– सशर्त अनुदान : १३८ करोड ५२ लाख
– विशेष अनुदान : १२ करोड ३ लाख
– सम्पूरक अनुदान : ९ करोड ३८ लाख
यस अनुसार चालु आर्थिक वर्षमा सर्लाही जिल्लाका स्थानीय तहहरूले कुल २३ अर्ब ४३ करोड ८५ लाख रुपैयाँ बराबरको अनुदान प्राप्त गरेका हुन् । यो अनुदान स्थानीय तहले विकास निर्माण, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य, कृषि तथा सामाजिक सुरक्षाका कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि उपयोगी हुने अपेक्षा गरिएको छ ।






