एजेन्सी । हिमाचल प्रदेशको सिरमौर जिल्लामा भएको एक अनौठो विवाह अहिले सामाजिक सञ्जालमा व्यापक चर्चा बटुलिरहेको छ, जहाँ एउटी युवतीले दुई सगे भाइसँग एकैसाथ विवाह गरेकी छन् । हट्टी समुदाय अन्तर्गतको यो विवाह १२ जुलाई २०२५ मा शिल्लाई गाउँमा सम्पन्न भएको हो ।
दुलही सुनिता चौहानले प्रदीप र कपिल नेगी नाम गरेका दुई सगे दाजुभाइसँग परम्परागत ‘जज्दा’ पद्धति अनुसार विवाह गरेकी हुन् । तीमध्ये एक जना जलशक्ति विभागमा सरकारी कर्मचारी हुन् भने अर्का विदेशमा कार्यरत छन् । तीन दिनसम्म चलेको विवाह समारोहमा स्थानीय लोकगीत, नृत्य र सांस्कृतिक झल्को देखिएको थियो, जहाँ सयौं पाहुनाले सहभागिता जनाएका थिए ।
हिमाचल प्रदेशको सिरमौर, किन्नौर र उत्तराखण्डको जौनसार-बावर क्षेत्रका केही पहाडी समुदायमा अझै पनि ‘बहुपति प्रथा’ कायम छ । महाभारत कालको द्रौपदीको विवाहलाई उदाहरण दिँदै, यहाँ एउटी महिलाले दुई वा दुईभन्दा बढी दाजुभाइसँग विवाह गर्ने प्रचलन रहेको पाइन्छ । हट्टी समुदायमा यस परम्परालाई ‘जज्दा’ भनिन्छ भने कानुनी र सामाजिक मान्यता पनि प्राप्त छ ।
केन्द्रीय हट्टी समितिका महासचिव कुन्दनसिंह शास्त्रीका अनुसार, यो परम्पराको सुरुवात हजारौं वर्षअघि परिवारको खेतीयोग्य जमिनलाई बाँडफाँड हुन नदिन गरिएको थियो । यसले भाइबीचको एकता, सद्भाव र संयुक्त परिवारको संरचना जोगाउन सहयोग गरेको उनी बताउँछन् ।
हट्टी समुदायमा यस्ता विवाहलाई ‘जोडिदारा’ पनि भनिन्छ, जहाँ दुलही बेहुलाको घरमा गएर सबै परम्परागत अनुष्ठान अनुसार विवाह सम्पन्न हुन्छ, जसलाई ‘सिंज’ भनिन्छ । समयसँगै आधुनिकता र शिक्षा फैलिँदै जाँदा धेरैले पुरानो परम्परा त्यागे पनि, शिल्लाईको यो विवाहले हट्टी समुदायको सांस्कृतिक पहिचान र परम्परागत मूल्य पुन: उजागर गरिदिएको छ । स्थानीय जनस्तरमा मिश्रित प्रतिक्रिया आइरहे पनि यस विवाहले समाजमा बहस र चासोको नयाँ लहर ल्याएको छ ।






