काठमाडौं । सोल्टी होटल परिसरमा रहेको क्यासिनो माजोङले पाँचौं पटक ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ अवार्ड प्राप्त गरेको छ । २४ अक्टोबर शुक्रबार राति भारत नयाँदिल्लीस्थित ‘होटल दि अशोक’मा आयोजित २० औं टुरिजम, ट्राभल एन्ड हस्पिटालिटी अवार्ड कार्यक्रममा क्यासिनो माजोङलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो ।
उक्त अवार्डबाट क्यासिनो माजोङका प्रबन्ध निर्देशक विनोद श्रेष्ठ सम्मानित भएका छन् । भारत सरकारका संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्रसिंह शेखावतले श्रेष्ठलाई अवार्ड हस्तान्तरण गरे । क्यासिनो माजोङका अध्यक्ष तथा प्रबन्ध निर्देशक विनोद श्रेष्ठ विगत २७ वर्षदेखि पर्यटन व्यवसायमा आबद्ध छन् ।
क्यासिनो, होटल तथा रिजोर्टस्, ट्राभल लगायत व्यवसायमा उनको लगानी छ । उनको स्वामित्वमा रहेको क्यासिनो माजोङ नेपालकै नम्बर १ क्यासिनो हो । क्यासिनो माजोङले बर्सेनि लाखौं विदेशी पर्यटक नेपाल भित्र्याउँदै आएको छ । र, उक्त अवार्ड त्यसैको प्रतिफल हो ।
सोही समारोहमा क्यासिनो माजोङ नेपालगञ्जलाई ‘बेस्ट क्यासिनो इन नेपाल’ अवार्डबाट सम्मानित गरिएको छ । उक्त अवार्ड क्यासिनो माजोङ नेपालगञ्जका अध्यक्ष तथा प्रबन्ध निर्देशक विनोद श्रेष्ठलाई प्रदान गरिएको छ ।
यस्तै, सोही समारोहमा क्यासिनो माजोङ, नेपालगञ्जका महाप्रबन्धक निरजकुमार प्रधान ‘बेस्ट क्यासिनो जनरल म्यानेजर इन साउथ एसिया’ अवार्डबाट सम्मानित भएका छन् । गत वर्ष पनि प्रधानले उक्त अवार्ड प्राप्त गरेका थिए । त्यसअघि सन् २०२३ मा क्यासिनो माजोङ, काठमाडौंका महाप्रबन्धक अमूल्य राणाले उक्त अवार्ड प्राप्त गरेका थिए ।
नयाँदिल्लीमा आयोजना हुँदै आएको ‘हस्पिटालिटी अवार्ड’ कार्यक्रममा यसअघि सन् २०२४, २०२३, २०२२ र २०१९ मा क्यासिनो माजोङ नेपाल ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ र सन् २०१८ मा ‘बेस्ट क्यासिनो इन नेपाल’ अवार्डबाट सम्मानित भइसकेको छ ।
सन् २०२३ र २०२४ मा पनि क्यासिनो माजोङ नेपालगञ्जले ‘बेस्ट क्यासिनो इन नेपाल’ अवार्ड प्राप्त गरेको थियो । क्यासिनो माजोङ नेपालले पाएको यो दक्षिण एसियास्तरको प्रतिष्ठित अवार्ड हो ।
भारतको राजधानी नयाँदिल्लीस्थित ‘हस्पिटालिटी इन्डिया पब्लिकेसन्स ग्रुप’ले बर्सेनि संसारभरका होटल र क्यासिनोहरूलाई अवार्ड वितरण गर्दै आएको छ । दक्षिण एसियाको हस्पिटालिटी क्षेत्रलाई प्रबर्द्धन गर्न उक्त अवार्ड फंक्सन आयोजना गरिँदै आएको छ ।
दक्षिण एसियामा बेस्ट हस्पिटालिटी कसले दिएको छ भनेर ‘हस्पिटालिटी इन्डिया’ले गम्भीर अध्ययनपछि अवार्डका लागि छनोट गर्छ । कुन क्यासिनोको ट्रान्ज्याक्सन कस्तो छ अनि भिजिटरको संख्या लगायत पाटोमा ‘हस्पिटालिटी इन्डिया’ले अध्ययन गरेर अवार्डका लागि छनोट गर्छ । र, सम्बन्धित मुलुकको बजारमा कसको बढी क्रेज छ र कुन क्यासिनो लोकप्रिय छ भनेर अध्ययनपछि मात्र अवार्डका लागि छनोट गरिन्छ ।
‘हस्पिटालिटी इन्डिया’मा भारतको पर्यटन क्षेत्रमा आबद्ध व्यक्तिहरू, भारतको पर्यटन बोर्ड र भारतीय पर्यटन मन्त्रालयका अधिकारीहरू आबद्ध छन् । भारत पर्यटन विकास निगम लिमिटेडको यसमा विशेष संलग्नता छ ।
ट्राभल एन्ड हस्पिटालिटी अवार्डमार्फत पर्यटन उद्योगका विभिन्न क्षेत्रका कम्पनीहरूलाई अन्तर्राष्ट्रीय मान्यता प्रदान गर्ने गरिन्छ । उत्कृष्ट होटलहरू, क्यासिनोहरू, टुर अपरेटरहरू, स्पा एन्ड वेलनेस सुविधा प्रदायकहरू, रेस्टुराँ तथा प्रविधि र अन्वेषण कम्पनीहरूलाई उक्त अवार्ड प्रदान गरिँदै आएको छ ।







