काठमाडौं । चालु आर्थिक वर्षको प्रथम चौमास पूरा हुँदै गर्दा मधेस प्रदेशका २४ स्थानीय तहले बजेट प्रस्तुत गर्न नसकेको तथ्य सार्वजनिक भएको छ । देशभर हालसम्म ७२८ स्थानीय तहले चालु आवको बजेट प्रस्तुत गरिसकेका छन् भने २५ स्थानीय तह अझै प्रस्तुत गर्न सकेका छैनन् । यसमा मधेस प्रदेशका २४ र लुम्बिनी प्रदेशको शुद्धोधन गाउँपालिका रहेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार, सप्तरी जिल्लामा राजविराज नगरपालिका, अग्नीसाइर–कृष्णासवरण गाउँपालिका, बलान बिहुन गाउँपालिका, कल्याणपुर नगरपालिकाले बजेट पेश गर्न सकेका छैनन् । त्यस्तै सिराहाको धनगढीमाई र सुखीपुर नगरपालिका, धनुषाको क्षिरेश्वर र नगराइन नगरपालिका, औरही गाउँपालिका, कमला नगरपालिका, जनकनन्दिनी गाउँपालिकाले पनि चालु आवको बजेट पेश गर्न बाँकी छ ।
त्यस्तै, धनुषाको धनौजी गाउँपालिका, महोत्तरीको सोनमा गाउँपालिका, सर्लाहीको मलङ्गवा नगरपालिका, हरिवन नगरपालिका र चन्द्रनगर गाउँपालिका तथा रामनगर गाउँपालिका रहका छन् । यसैगरी रौतहटको कटहरिया नगरपालिका, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, यमुनामाइ गाउँपालिका, बाराको महागढीमाई नगरपालिका, विश्रामपुर गाउँपालिका र पर्साको पकाहा मैनपुर गाउँपालिकाले चालु आवको बजेट हालसम्म प्रस्तुत गर्न सकेका छैनन् ।
संवैधानिक व्यवस्थाअनुसार, हरेक वर्ष संघीय सरकारले जेठ १५, प्रदेश सरकारले असार १ र स्थानीय तहले असार १० भित्र बजेट पेश गर्नुपर्ने छ । चालु आवको पहिलो चौमाससम्म मधेस प्रदेशका १३६ स्थानीय तहमध्ये ११२ स्थानीय तहले मात्र बजेट पेश गरेका छन्, भने बाँकी २४ स्थानीय तहले बजेट पेश नगरेको देखिएको छ । स्थानीय तहले बजेट पेश नगरेको कारणले स्थानीय विकास, आयोजना कार्य र बजेट व्यवस्थापनमा ढिलाइ भइरहेको छ र यसले सेवा प्रवाहमा असर पर्ने देखिन्छ ।






