एजेन्सी । काेराेना खाेपबारे विभिन्न अनुसन्धानहरू भइरहेका छन् । खाेप लगाउन सुरू गरिए पनि यसबारेका अनुसन्धान राेकिएका छैनन्, दिनदिनै नयाँ नयाँ तथ्यहरू बाहिरिरहेका छन् । यस्तैमा खाेप भनेर सलाइन पानी लगाइदिएकाे घटना सार्वजनिक भएकाे छ ।
घटना जर्मनीकाे हाे । त्यहाँकाे एक खोप केन्द्रमा स्वास्थ्यकर्मीले कोभिड-१९ विरुद्धको खोपको साटो सलाइन पानी दिएको शङ्कापछि त्यहाँका अधिकारीहरूले ८,००० भन्दा बढी मानिसलाई खोप दोहोर्याउन आग्रह गरेका छन् । नर्थ सी नजिकै फ्रिसल्यान्डस्थित खोप केन्द्रमा भएको उक्त घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
घटनाबारे सार्वजनिक हुँदा गत मार्च र अप्रिलमा खोप लगाएका ६ जनालाई मात्र नुन पानी दिइएको विश्वास गरिएको थियो । गत अप्रिलमा आरोपित स्वास्थ्यकर्मीले आफूले खोपको बोतल फुटाएपछि ६ जनालाई सलाइन दिएको स्वीकार गर्नुभएको थियो । तर प्रहरी अनुसन्धानले उहाँले फाइजरको खोप लगाउने धेरै मानिसलाई नुनपानी खोप लगाएको पुष्टि भयो।
प्रभावितहरूमध्ये धेरै ७० वर्षभन्दा माथि उमेरका जोखिम समूहका मानिसहरू भएको बताइएको छ । प्रहरीले उक्त घटना राजनीतिक स्वार्थबाट प्रेरित हुनसक्ने सम्भावना नकारेको छैन । ती स्वास्थ्यकर्मीका वकिलले त्यस आरोपलाई स्विकार गरेका छैनन् ।
यस घटनामा प्रत्यक्षदर्शीसँग बयान लिने क्रम जारी छ । हालसम्म यस घटनाविरुद्ध कुनै पनि मुद्दा दर्ता गरिएको छैन । क्षेत्रीय प्रसारक एनडीआरका अनुसार ८,५५७ मानिसहरूलाई पुनः खोप लगाउनका लागि निर्देशन दिइएको छ । जसमध्ये ३,६०० जनाले मात्र खोप दोहोर्याउनका लागि समय लिएका छन्।






