रौतहट । नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले अब आफू सक्रिय चुनावी राजनीतिबाट बाहिरिने उद्घोष गरेका छन् । बिहिबार आफ्नो गृहजिल्ला रौतहटको गौरमा पत्रकारहरूसँग कुरा गर्दै उनले आगामी दिनमा कुनै पनि निर्वाचनमा उम्मेदवार नबन्ने बताएका हुन् ।
नेता नेपालले यस पटकको निर्वाचन नै आफ्नो लागि अन्तिम चुनावी मैदान भएको स्पष्ट पारे । उनले अन्तरात्माको आवाज सुन्दै चुनावी राजनीतिबाट विश्राम लिने निर्णयमा पुगेको बताए । चुनाव नलड्ने घोषणासँगै उनले आफ्नो आगामी योजना बारे पनि जानकारी दिए ।
अबको समय अध्ययन, लेखन, देश विदेश भ्रमण तथा सामाजिक सेवाका कार्यमा बिताउने योजना रहेको उनले बताए । सोही अवसरमा उनले आफूविरुद्ध लगाइएको पतञ्जली जग्गा प्रकरणको आरोपलाई राजनीतिक प्रतिशोधको रूपमा चित्रण गरे ।
उनले केपी शर्मा ओलीले आफूलाई सिध्याउने नियतले षड्यन्त्र बुनेको आरोप लगाए । ओलीले आफू मात्र नभई राष्ट्रिय स्वतन्त्र पार्टी लगायत विरोध गर्ने अन्य दलहरूलाई पनि नछाडेको र संकुचित राजनीति गरिरहेको उनको भनाई छ ।
माधव नेपाल हाल रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा छन् । उनीविरुद्ध विशेष अदालतमा पतञ्जली योगपीठको जग्गा सम्बन्धी भ्रष्टाचार मुद्दा विचाराधीन रहेको छ ।




