रौतहट । रौतहट क्षेत्र नं. ३ मा फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दुई पूर्वमन्त्री बीच प्रतिस्पर्धा बढेको छ । २०६४ सालदेखि निरन्तर विजयी हुँदै आएका आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साह र जनता समाजवादी पार्टीका पूर्वमन्त्री गोविन्द चौधरी मुख्य प्रत्याशी हुन् ।
पूर्वमन्त्री साहले १८ वर्षे राजनीतिक यात्रालाई निरन्तरता दिँदै पाँचौं पटक प्रतिनिधिसभा सदस्यमा विजयी हुने लक्ष्य राखेका छन् । उनी २०७९ सालको निर्वाचनमा ३२,४३७ मत प्राप्त गरी विजयी भएका थिए ।
साहले घर घरमा गएर मतदाता भेट्दै यस क्षेत्रको विकासमा गरेको योगदानलाई चुनावी एजेन्डा बनाएका छन् । उनका प्रतिद्वन्द्वी गोविन्द चौधरी यस क्षेत्रको विकासमा आफ्नो लामो अनुभव र योगदानलाई जोड दिँदै मतदाता भेटिरहेका छन् । चौधरी २०४८ सालमा स्वतन्त्र, २०६४ सालमा मधेस लोकतान्त्रिक पार्टीबाट निर्वाचित भएका थिए ।
यसैगरी, नेकपा (एमाले) बाट पूर्वप्रदेश सभा सदस्य कुन्दन कुशवाह, नेपाली कांग्रेसबाट रामकृपाल यादव, नेकपाबाट पुनमकुमारी यादव र रास्वपाबाट रविन्द्र पटेलले पनि उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा मतदाता संख्या १ लाख ८ हजार ६९९ रहेको र १३७ मतदान केन्द्र सञ्चालन हुने भएकोले निर्वाचन रोचक हुने स्थानीयहरू बताइरहेका छन् ।






