पश्चिम नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट नवलपरासी निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामप्रसाद पाण्डे (रामु) ले क्षेत्रको समग्र विकासका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् ।
चुनावी घरदैलो अभियानका क्रममा निर्वाचन क्षेत्रका विभिन्न वडा तथा टोलमा पुगेका पाण्डेले मतदातासँग भेटघाट गर्दै आफ्ना विकास योजना सार्वजनिक गरेका हुन् ।

सुस्ता गाउँपालिकाका पूर्व अध्यक्ष समेत रहेका पाण्डेले स्थानीय तहको नेतृत्व गर्दा हासिल गरेको अनुभवका आधारमा अब सिंगो निर्वाचन क्षेत्रको विकासमा केन्द्रित हुने स्पष्ट पारे ।
उनले गण्डक सिँचाइ आयोजना सम्बन्धी समस्या समाधान, डुबान नियन्त्रण, हुलाकी राजमार्गको स्तरोन्नति तथा आधारभूत पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने उल्लेख गरे ।

साथै कृषि क्षेत्रको आधुनिकीकरणमार्फत किसानको आयस्तर वृद्धि गर्ने योजना रहेको बताउँदै विशेष गरी केरा, उखु लगायत स्थानीय कृषिजन्य उत्पादनको प्रवर्द्धन, बजारीकरण र उत्पादनको सुनिश्चितता गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्थानीयस्तरमा ‘रामु’ नामले परिचित पाण्डेलाई घरदैलो अभियानका क्रममा मतदाताले फूलमाला र अबिरसहित स्वागत गरेका छन् । अभियानमा एमालेका स्थानीय नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको छ ।






