सर्लाही । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आगामी पाँच वर्षभित्र मधेशका दलित तथा विपन्न घर परिवारको बस्तीमा उल्लेखनीय परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सर्लाहीको ईश्वरपुर वडा नं. ६ बयलबास बजारमा चुनाबी सभालाई सम्बोधन गर्दै उनले चुनावी प्रतिस्पर्धामा हिडिरहँदा मधेका दलित तथा विपन्न परिवारमा हरेक बस्ती अबको पाँच वर्षमा पुर्ण रुपमा परिवर्तन हुने दाबी गरे ।
सर्लाहीको दलित तथा विपन्नको अवस्था हेर्दा यस्तो होला भन्ने आफूले कल्पना समेत नगरेको थापाले बताए । त्यस्तै उनले मधेशको शिक्षा, कृषि र रोजगारी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।
थापाले मधेशको शिक्षा क्षेत्र अहिले गुणस्तरीयतामा पछाडि परेको उल्लेख गर्दै अबको पाँच वर्षमा शिक्षा प्रणालीमा सुधार गरिने दाबी गरे । ‘मधेशलाई गुणस्तरीय शिक्षामा अगाडि ल्याइनेछ,’ उनले भने ।
यसैगरी कृषि क्षेत्रमा देखिएको मलखाद अभाव र बिचौलियाको समस्या बारे बोल्दै थापाले अब किसानले सोझै पसलबाट मलखाद किन्न सक्ने व्यवस्था मिलाइने बताए ।
बिचौलिया हटाएर पारदर्शी वितरण प्रणाली लागू गरिने उनको भनाइ छ । यसै क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित टिप्पणी गर्दै ‘हावा हुण्डरीमा एकछिन अडिक हुन’ मतदातासँग आग्रह गरे ।
२०६४ सालमा पनि यस्तै राजनीतिक लहर आएको तर अपेक्षित उपलब्धि हासिल नभएको उल्लेख गर्दै अहिले पनि त्यस्तै अवस्था दोहोरिन सक्ने उनले दाबी गरे ।
थापाले परिवर्तनका लागि सबै राजनीतिक शक्तिको सहकार्य आवश्यक रहेको बताउँदै नेपाली कांग्रेस, नेकपा एमाले, अन्य कम्युनिस्ट तथा मधेसवादी दलहरूको सहयोग आवश्यक पर्ने धारणा राखे ।
संविधान संशोधनमार्फत संरचनात्मक सुधार नगरी दीगो परिवर्तन सम्भव नहुने उनको भनाइ थियो । देशको समग्र विकास बारे बोल्दै थापाले ‘कांग्रेसको मुद्दा देशलाई पाँच वर्षमा तीव्र गतिमा विना दुर्घटना अघि बढाउनु हो’ उनले भने ।
२०४६ सालपछि भएका राजनीतिक गतिविधि र व्यक्तिहरूको छानबिन गरिने दाबी गर्दै उनले छानबिनको सुरुआत आफू र पार्टी सभापतिबाटै हुने बताए । नेपालमा ५ लाख युवामा ५० हजारले मात्र रोजगारी पाएको छ । बाकी साढे ४ लाखलाई पाँच वर्षमा प्रत्येक वर्ष ५० हजार युवाले रोजगारी पाउने थापाले दावी गरे ।
युवाहरूमा पुराना पार्टीप्रति असन्तुष्टि रहेको स्वीकार गर्दै थापाले विचार र नेतृत्वमा परिवर्तन ल्याएर युवामैत्री कांग्रेस निर्माण गरेको दाबी गरे । ‘युवाको विचार अनुसार बदलिएको कांग्रेसलाई मतदान गर्न म आग्रह गर्छु,’ उनले भने ।






