एजेन्सी । यूपीको इटावामा एक दुलहाको बिवाह ४५ वर्षीय महिलासँग जबरस्ती गराउन खोजिएको छ । बिवाहअघि २० वर्षकी युवतीको तस्वीर देखाइएको थियो । जब युवक बिवाहका लागि तयार भए तब उनको साथमा बिवाहका दिन मण्डपमा दुई बच्चाकी आमालाई बसाइयो ।
घटनापछि दुलहा प्रहरीकहाँ पुगे र उनीहरुविरुद्ध उजुरी दिए । प्राप्तका अनुसार शत्रुघ्न सिंह नामका युवकसँग उक्त घटना घटेको हो । दलालले पहिले २० वर्षीय युवतीको दस्वीर देखाएर ३५ हजार रुपैयाँ अग्रिम भुक्तानी पनि लिए । तर बिवाहका दिन जब युवक मन्दिर पुगे, तब उनले थाहा पाए कि उनको बिवाह ४५ वर्षीय महिलासँग हुँदैछ । त्यसपछि उनले बिवाह गर्न अस्वीकार गरे ।
उनी आफ्नी आमासँग प्रहरी कार्यालय जाने कुरा गर्न थाले । तर परिस्थिति आफ्नो हातबाट बाहिर निस्कने अवस्था देखेपछि त्यहाँ रहेका दलालले शत्रुघ्न र उनको परिवारलाई डराउन र धम्काउन सुरु गरे । उनीहरु डण्डा लिएर उनको पछि भाग्न थाले । तर जसोतसो ज्यान बचाएर आमा छोरा त्यहाँबाट भागेर सिधै प्रहरी चौकी पुगे ।
शुत्रुघ्नले प्रहरीलाई बताए अनुसार दलालले ३५ हजार रुपैयाँ लिएर बिवाहका लागि नीलकण्ठ मन्दिरमा युवती देखाएका थिए जसको उमेर २० वर्ष थियो । ‘मैले ती युवतीको हातमा एक हजार रुपैयाँ र एक मिठाइको बट्टा दिएको थिएँ, सगुन स्वरुप । उनीसँग उनको काकी पनि आएकी थिइन् । बिवाह पक्का भएको थियो, कुराकानी पनि गरेका थियौँ । पछि काली वाहन मन्दिरमा बिवाहका लागि बोलाइएको थियो । बिवाहको एक विधि चलिरहेको समय आमाले दुलही पहिल हेरेको युवती नभइ ४५ वर्षीय महिला भएको थाहा पाइन्’, ती युवकले भने ।






