काठमाडौं । करिब चार दशक लामो संसदीय तथा सत्ताको राजनीतिमा सक्रिय रहँदै आएका नेता शरतसिंह भण्डारी यस पटकको निर्वाचनमा पराजय उन्मुख देखिएका छन् । महोत्तरी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार दीपककुमार साहसँग उनी फराकिलो मतान्तरले पछाडि परेका छन् ।
शनिबार दिउँसो २:४५ बजेसम्मको मतगणना अनुसार साहले २३ हजार ४६० मत प्राप्त गरेका छन् भने जनता समाजवादी पार्टी जसपा नेपालका उम्मेदवार भण्डारीले ७ हजार ४६ मत मात्र पाएका छन् । यस अनुसार भण्डारी करिब १६ हजारभन्दा बढी मतले पछि परेका छन् ।
निर्वाचन आयोगका अनुसार महोत्तरी २ मा कुल ६४ हजार ८४५ मत खसेको थियो । हालसम्म करिब ४१ हजार मत गणना भइसकेको छ भने करिब २३ हजार मत गन्न बाँकी छ । अहिलेको मतान्तरका आधारमा भण्डारीको जित्ने सम्भावना अत्यन्त न्यून देखिएको छ । गणना भइसकेका मतमध्ये साहले करिब ५७ प्रतिशत मत प्राप्त गरेका छन् भने भण्डारीले करिब १७ प्रतिशत मत मात्र पाएका छन् ।
पञ्चायतदेखि गणतन्त्रसम्मको यात्रा
भण्डारी नेपाली राजनीतिमा पञ्चायतकालदेखि गणतन्त्रसम्म निरन्तर सक्रिय रहेका नेता हुन् । २०३८ सालमा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित हुँदै उनले आफ्नो संसदीय यात्रा सुरु गरेका थिए । २०४३ सालमा पुनः राष्ट्रिय पञ्चायत सदस्य बनेपछि मरिचमान सिंह श्रेष्ठ नेतृत्वको सरकारमा पञ्चायत तथा स्थानीय विकास सहायक मन्त्री बने । त्यसपछि २०४५ सालमा वाणिज्य राज्यमन्त्रीको जिम्मेवारी समेत सम्हाले ।
२०४६ सालको जनआन्दोलनपछि बहुदलीय व्यवस्थामा प्रवेश गर्दा पनि उनको राजनीतिक यात्रा रोकिएन । २०४८ सालको आम निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा महोत्तरी ५ बाट चुनाव लडे पनि नेपाली कांग्रेसका वसन्तकुमार गुरुङसँग पराजित भए । तर २०५१ सालको निर्वाचनमा स्वतन्त्र उम्मेदवारकै रूपमा विजयी हुँदै पुनः सत्ताको केन्द्रमा पुगे ।
सत्ता यात्रामा निरन्तरता
२०५२ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा विना विभागीय राज्यमन्त्री बनेका भण्डारी २०५४ सालमा सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा युवा, खेलकुद तथा संस्कृति मन्त्री बने । २०५६ सालको आम निर्वाचनमा कांग्रेसबाट टिकट लिएर विजयी भएपछि कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा पनि मन्त्री बन्न सफल भए । पछि उनको जिम्मेवारी परिवर्तन गरेर स्वास्थ्य मन्त्रालय समेत सम्हाल्ने अवसर पाए ।
२०६३ सालको मधेस आन्दोलनपछि उनले कांग्रेस छाडेर मधेस केन्द्रित राजनीतिमा प्रवेश गरे । मधेसी जनअधिकार फोरममा आबद्ध भई २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा महोत्तरी ६ बाट निर्वाचित भए । त्यसपछि फोरम, राष्ट्रिय मधेस समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी राजपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा हुँदै हाल उनी जसपा नेपालमा आबद्ध छन् ।
दल परिवर्तन भएपनि उनको सत्तासँगको सम्बन्ध भने निरन्तर रह्यो । २०६६ सालमा माधवकुमार नेपाल नेतृत्वको सरकारमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका भण्डारी २०६८ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारमा रक्षा मन्त्री बने । तर तराई–मधेसका युवालाई नेपाली सेनामा सामूहिक प्रवेश गराउनुपर्ने विषयमा दिएको विवादास्पद अभिव्यक्तिपछि उनलाई पदबाट राजीनामा दिनुपरेको थियो ।
उतार–चढावको राजनीतिक यात्रा
२०७० सालको संविधानसभा निर्वाचनमा महोत्तरीका दुई क्षेत्रबाट उम्मेदवारी दिएका भण्डारी दुवै ठाउँमा पराजित भए । त्यसपछि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय जनता पार्टी राजपाबाट उम्मेदवार बनेर पुनः विजयी भए ।
२०७८ सालमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बने पनि त्यो जिम्मेवारी उनले १७ दिन मात्रै सम्हाले । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा लोसपाबाट महोत्तरी २ मा विजयी भएका उनले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा श्रम तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी पाए । पछि कांग्रेस–एमाले गठबन्धन सरकार गठन हुँदा पनि उनी फेरि श्रम तथा सामाजिक सुरक्षा मन्त्री बनेका थिए ।
अन्तिम चुनावको घोषणा, तर पराजय नजिक
यस पटकको निर्वाचन अभियानमा भण्डारीले यो आफ्नो ‘अन्तिम चुनाव’ भएको भन्दै मत मागेका थिए । तर प्रारम्भिक मतपरिणामले भने उनको चार दशक लामो संसदीय यात्रामा पूर्णविराम लाग्ने संकेत गरेको छ ।
यदि अन्तिम परिणाम पनि यही प्रवृत्तिमा आयो भने पञ्चायतदेखि गणतन्त्रसम्म निरन्तर सत्ताको वरिपरि रहेका भण्डारीको राजनीतिक यात्रामा यस पटक निर्णायक मोड आउने देखिन्छ ।






