रौतहट । रौतहटको राजनीतिमा लामो समयदेखि कायम रहेको पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको दबदबा समाप्त भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा पूर्वप्रधानमन्त्री नेपाल पराजित भएका हुन् ।
यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार राजेशकुमार चौधरी २८ हजार ९४६ मतसहित विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धीहरूलाई भारी मतान्तरले पछाडि पार्दै ऐतिहासिक जित हासिल गरेका हुन् ।
यस क्षेत्रमा नेकपा एमालेका अजयकुमार गुप्ता १० हजार ६९३ मतका साथ दोस्रो र नेपाली कांग्रेसका अनिल झा ८ हजार ५७४ मतका साथ तेस्रो स्थानमा रहेका छन् । सबैभन्दा ठूलो धक्का पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेता माधवकुमार नेपाललाई लागेको छ ।
उनले जम्मा ७ हजार ६६९ मत मात्र प्राप्त गरी चौथो स्थानमा खुम्चिनु परेको छ । यो नतिजासँगै रौतहटमा दशकौँदेखि चल्दै आएको माधव नेपालको राजनीतिक बर्चस्व ढलेको छ ।
निर्वाचन अधिकृत मनोज केसीका अनुसार यस क्षेत्रमा ७१ हजार १५६ मत खसेको थियो । रौतहट १ मा मात्र नभई क्षेत्र नम्बर ३ र ४ मा पनि रास्वपाकै उम्मेदवारहरूले अग्रता लिइरहेका छन्, जसले मधेसमा नयाँ राजनीतिक शक्तिको उदय भएको पुष्टि गरेको छ ।






