काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवार रेणु दाहालले हार स्वीकार गर्दै आफ्नो निर्वाचन अभियान समाप्त गरेको घोषणा गरेकी छन् । दाहालले मत परिणामको सम्मान गर्दै विजयी उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोबिता गौतमलाई बधाई दिइन् ।
उनले आफ्नो ३० वर्षे राजनीतिक अनुभव र भरतपुरमा ९ वर्ष नगर प्रमुखको रूपमा सेवा जनताको भलाइ र क्षेत्रको विकासमा समर्पित रहेको उल्लेख गरिन् । यस्तै उनले मतमा हार भएपनि काम र योगदानद्वारा चितवनका जनताको मन जित्न सफल भएको अनुभवले उत्साहित बनाएको बताइन् ।
उनले सबै मतदाताहरू, पार्टीका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक, मिडिया कर्मी र कलाकारहरूलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा चितवनको विकास र समृद्धिका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।






