सर्लाही । सर्लाही क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोको जमानत जफत भएको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तर्गत बिहीबार मतदान भएपछि शनिबार मतगणना सम्पन्न भएकोमा यस क्षेत्रमा ३१ जना उम्मेदवारमध्ये २९ जनाको जमानत जफत भएको हो ।
निर्वाचन आयोगको मत परिणाम अनुसार यस क्षेत्रमा ७२ हजार ३८१ सदर मत रहेकोमा राष्ट्रिय मुक्ति पार्टी नेपालबाट उम्मेदवार रहेका पार्टी अध्यक्ष महतोले ५ हजार ९९२ मत पाएका छन् । यो कुल सदर मतको ८.२८ प्रतिशत हो ।
यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवीन महतो निर्वाचित भएका छन् । उनले ४२ हजार ५१२ मत ल्याएर निर्वाचित भएका हुन् । यो कुल सदर मतको ५८.७३ प्रतिशत हो ।
यस्तै, यो क्षेत्रबाट २०७९ को निर्वाचनमा निर्वाचित भएका नेपाली कम्युनिष्ट पार्टीका महिन्द्र राय यादवले जमानत बचाउन सफल भएका छन् । उनले ८ हजार ५२३ मत प्राप्त गरेका छन् । यो कुल सदर मतको ११.७८ प्रतिशत हो ।
यस्तै, नेपाली कांग्रेसबाट उम्मेदवार रहेका डा. सरोज कुमारले समेत जमानत बचाउन सकेका छैनन् । उनले ७ हजार ३९ मत प्राप्त गरेका छन् । यो कुल सदर मतको ९.७२ प्रतिशत हो ।
यस्तै, नेपाल संघीय समाजवादी पार्टीबाट उम्मेदवार रहेका रजी अहमद पाँचौं स्थानमा रहँदै २ हजार २८३ मत प्राप्त गरेका छन् । नेकपा एमालेका नागेश्वर साहले १ हजार ४६३, जनमत पार्टीका विपीन कापरले ७५६, जनता समाजवादी पार्टी नेपालका भरत चौधरीले ५१८ मत प्राप्त गरेका छन् ।






