काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा आफ्ना उम्मेदवार मातृका यादव प्रतिनिधि सभा सदस्यमा विजयी भइसक्दा पनि निर्वाचन आयोगले प्रमाणपत्र नदिएको भन्दै आपत्ति जनाएको छ ।
नेकपा केन्द्रीय कार्यालयका सचिव गोविन्द आचार्यले वक्तव्य जारी गर्दै यादव विजयी भएको मत परिणाम सार्वजनिक भइसक्दा पनि उनलाई आयोगले निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण नगरेकोमा पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन् ।
नेकपाले कसैको कानुनसम्मत रूपमा उम्मेदवारी नै खारेज भइसकेको अवस्थामा उम्मेदवार नै नरहेको व्यक्तिसँग सम्बन्धित भनेर प्रमाणपत्र नै वितरण नगर्नु कानुनसम्मत नहुनेमा जोड दिएको छ ।
‘हाम्रो पार्टी निर्वाचन आयोगजस्तो संवैधानिक निकायलाई विधिको शासन पालना गर्न र कुनै पनि राजनीतिक दवावमा नपरी निष्पक्ष ढंगले काम गर्न आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘न्यायालयले पनि कानून र विधिसम्मतढंगले सही निर्णय गर्नेछ भन्ने विश्वास व्यक्त गर्दछ ।’
निर्वाचन आयोगले फागुन १८ निर्णय गर्दै निर्वाचन ऐन, २०७४ बमोजिम रास्वपाका उम्मेदवार किशोरी साह (कमल) को उम्मेदवारी खारेज गरेको थियो ।






