जनकपुरधाम । लामो समयदेखि अन्योलमा परेको धनुषा निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यतर्फको मतपरिणाम अन्तत: घोषणा गरिएको छ । निर्वाचन आयोगको केन्द्रीय कार्यालयबाट आएको पत्रपछि नेकपा उम्मेदवार मातृका प्रसाद यादवलाई विजयी घोषणा गरिएको हो ।
धनुषा क्षेत्र नं. १ का निर्वाचन अधिकृत मनोजकुमार बरालका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज सम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले यसअघि विजय घोषणा रोकिएको थियो ।
आयोगको केन्द्रीय कार्यालयबाट रोक्का रहेको विजय घोषणा गर्न निर्देशनसहितको पत्र प्राप्त भएपछि आफूहरूले नेकपा उम्मेदवार मातृका प्रसाद यादवलाई विजयी घोषणा गरेको उनले जानकारी दिए ।
गत फागुन १९ गते निर्माण कम्पनीसँग सम्बन्धित विषयमा निर्वाचन आयोगमा उम्मेदवार साह कालोसूचिमा रहेको उजुरी परेपछि रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको थियो ।
आयोगको उक्त निर्णयविरुद्ध साह अदालत पुगेका थिए । सोही विषयमा अदालतले सोमबार कारण देखाउ आदेश जारी गरेको छ । उम्मेदवारी विवाद सर्वोच्च अदालतमा पुगेपछि धनुषा १ को मतपरिणाम घोषणा केही समयदेखि रोकिएको थियो ।
विवादका कारण निर्वाचन अधिकृतको कार्यालयले मतगणना सम्पन्न भएपनि औपचारिक रूपमा विजयी घोषणा गर्न सकेको थिएन । निर्वाचन आयोगबाट स्पष्ट निर्देशन आएपछि मात्र परिणाम सार्वजनिक गरिएको हो ।
निर्वाचन अधिकृत बरालका अनुसार रास्वपाका उम्मेदवार साहका मतपत्र भने गोप्य राखिएको छ । अदालतमा मुद्दा विचाराधीन रहेकाले ती मतपत्रलाई अलग राखिएको उनले बताए ।
मतपरिणाम अनुसार नेकपा उम्मेदवार मातृका प्रसाद यादवले १० हजार ४२८ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रामपल्टन साहले ९ हजार ४८५ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवारले ९ हजार २२० मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन् ।
लामो समयसम्म मतपरिणाम घोषणा नहुँदा धनुषा १ मा राजनीतिक तथा कानुनी बहस चर्किएको थियो । निर्वाचन आयोगको पत्रपछि भने उक्त क्षेत्रको मतपरिणाम औपचारिक रूपमा टुंगिएको छ ।






