जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले संवैधानिक रूपमा दिइएका अधिकार कार्यान्वयन भएमा धेरै समस्या प्रदेशबाटै समाधान गर्न सकिने बताएका छन् । उनले मधेसको समग्र विकासमा नै आफ्नो ध्यान केन्द्रित रहेको बताए ।
जनकपुरमा निर्माण गरिने मधेस प्रदेश प्रहरी कार्यालय भवनको शिलान्यास गर्दै उनले संघीय व्यवस्थाको पूर्ण कार्यान्वयन भएमा मधेसका नागरिकले आफ्ना अधिकार प्राप्तिका लागि बारम्बार काठमाडौं धाउन नपर्ने बताए ।
प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र रोजगारीलाई प्राथमिकतामा राखेर ती क्षेत्रको विकासका निम्ति हरसम्भव प्रयास गरिरहेको उनले बताए । पर्याप्त स्रोत साधनको अभावमा जनअपेक्षा पूरा गर्न कठिन भएको उनको भनाइ थियो ।






