सर्लाही । सोमबार साँझ आएको शक्तिशाली हावाहुरीका कारण सर्लाहीका विभिन्न क्षेत्रमा किसानले लगाएको मकै र गहुँ बालीमा ठूलो क्षति पुगेको छ । अचानक आएको हावाहुरीले खेतमा तयार हुँदै गरेको बाली ढालेर व्यापक नोक्सानी पुर्याएको हो ।
चन्द्रनगर क्षेत्रका किसान रामध्यान ठाकुरको करिब दुई कठ्ठा जमिनमा लगाइएको मकै बाली पूर्ण रूपमा नष्ट भएको छ । हावाहुरीका कारण मकैका बोट सबै ढलेपछि उत्पादन हुने आशा समाप्त भएको उनले बताए ।
त्यस्तै अर्का किसान रामपुकार महतोले करिब सात कठ्ठा जमिनमा लगाएको मकै बालीमध्ये अधिकांश नष्ट भएको जानकारी दिए । ‘हावाहुरीले मकै ढालिदियो, अब उत्पादन निकै कम हुने देखिन्छ,’ उनले दुखेसो पोखे ।
हावाहुरीका कारण चन्द्रनगर मात्र नभई ईश्वरपुर, ब्रह्मपुरी लगायत सर्लाहीका विभिन्न स्थानमा किसानको सयौं बिघा जमिनमा लगाइएका मकै तथा गहुँ बालीमा क्षति पुगेको स्थानीयले बताएका छन् ।
खेतमा राम्रोसँग बढ्दै गरेको बाली अचानक आएको हावाहुरीले ढालेपछि किसान चिन्तित बनेका छन् । यसबाट लाखौँ रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । स्थानीय किसानहरूले सम्बन्धित निकायसँग क्षतिको यकिन मूल्यांकन गरी राहत तथा सहयोग उपलब्ध गराउन माग गरेका छन् ।






