काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् गठन गरेसँगै राष्ट्रपतिको कार्यालयले वरीयतासहितको मन्त्रीहरूको नाम र जिम्मेवार सार्वजनिक गरेको छ । राष्ट्रपति कार्यालयले शुक्रबार सार्वजनिक गरेको मन्त्रीहरूको सूचीअनुसार, गृहमन्त्री बनेका सुदन गुरुङलाई परराष्ट्रमन्त्री बनेका शिशिर खनालभन्दा माथिल्लो वरीयतामा राखिएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रधानमन्त्री शाहको वरीयता पहिलो र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको वरीयता दोस्रो स्थानमा छ । त्यसलगत्तै, तेस्रो वरीयतामा गृहमन्त्री सुदन गुरुङलाई राखिएको छ भने परराष्ट्रमन्त्री शिशिर खनाल वरीयता क्रममा चौथो स्थानमा परेका छन् ।
यस्तै भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री सुनिल लम्साल पाँचौं वरीयतामा हुँदा ऊर्जा मन्त्रालय सम्हालेका बिराजभक्त श्रेष्ठ छैटौं वरीयतामा छन् । प्रधानमन्त्री शाहले रक्षा तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेका छन् ।
शुक्रबार नै राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री शाह र उनको मन्त्रिपरिषद्का सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।





