पश्चिम नवलपरासी । भारतसँग जोडिएका सीमावर्ती बजारबाट १०० रुपैयाँ बराबरका सामान्य घरायसी सामान ल्याउँदा पनि भन्सार महसुल तिर्नुपर्ने सरकारको पछिल्लो निर्णयले सीमा क्षेत्रमा असन्तुष्टि चुलिएको छ ।
यसैबीच, जनता प्रगतिशील पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री हृदयेश त्रिपाठीले सरकारको यो कदमलाई “अदूरदर्शी र अव्यवहारिक” भन्दै कडा आलोचना गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै त्रिपाठीले सरकारको कदम प्रति असन्तुष्टि जनाएका हुन् । उनी भन्छन्, “त्रिभुवन विमानस्थलबाट आउने सुकिला मुकिला यात्रुलाई पनि १०० रुपैयाँको सामानमा यस्तै भन्सार काटिन्छ कि यो सास्ती केवल सीमाका गरिब जनताका लागि मात्र हो ?”
त्रिपाठीले सरकारको नीतिमाथि तीन मुख्य प्रश्न उठाएका छन्;
१. विभेदको आरोप
स्थलमार्गबाट आउने सर्वसाधारण र हवाईमार्गबाट आउने यात्रु बीच सरकारले विभेद गरेको उनको आरोप छ । यसलाई उनले “धनीलाई छुट, गरिबलाई कर”को नीति भन्दै टिप्पणी गरेका छन् ।
२. प्रशासनिक झन्झट र सम्भावित विकृति
देशभर सबै नाकामा प्रभावकारी भन्सार संरचना नभएको अवस्थामा साना मूल्यका सामानमा समेत कडाइ गर्दा प्रशासनिक झन्झट बढ्ने र भ्रष्टाचारको जोखिम बढ्न सक्ने उनको भनाइ छ ।
३. जनस्तरको सम्बन्धमा असर
नेपाल–भारतबीचको “रोटी–बेटी सम्बन्ध” स्मरण गर्दै त्रिपाठीले यस्ता नीतिले जनस्तरको सम्बन्धमा नकारात्मक प्रभाव पार्न सक्ने बताए ।
सीमा क्षेत्रमा बढ्दै असन्तुष्टि
पछिल्लो समय सीमा नाकामा चिनी, दाल, नुन लगायतका सामान्य सामानमा समेत कडाइ गरिन थालेपछि सीमावर्ती क्षेत्रका बासिन्दामा असन्तुष्टि बढेको छ । यही बीच त्रिपाठीले उठाएको प्रश्नले यो विषयलाई फेरि राजनीतिक र नीतिगत बहसको केन्द्रमा ल्याएको छ ।






