काठमाडौं । डा. सीके राउतले वर्तमान नेतृत्व शैली प्रति असन्तुष्टि जनाएका छन् । उनले ‘विवेकहीन बुख्याचा नेतृत्व’ भन्दै आलोचना गरेका छन् । उनले विवेकी, जिम्मेवार र उत्तरदायी नेतृत्व र लोकप्रियतामुखी ‘बुख्याचा’ नेतृत्वबीच स्पष्ट भिन्नता औंल्याएका छन् ।
राउतले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ‘बुख्याचा नेतृत्व’ आफैं निर्णय गर्न नसक्ने, माथिबाट आउने आदेश, भीड आकर्षण र लाइक सेयरकै आधारमा चल्ने प्रवृत्तिको भएको बताएका छन् । उनका अनुसार यस्तो नेतृत्वले के नैतिक, के मानवीय र के जिम्मेवार भन्ने कुरामा ध्यान नदिई केवल चर्चामा आउने काम मात्रै गर्ने गर्छ ।
उनले उदाहरण दिँदै भनेका छन्- यदि कुनै गाउँबाट सीधा सडक बनाउने आदेश आयो भने ‘बुख्याचा नेतृत्व’ले आँखा चिम्लेर नक्सा अनुसार डोजर चलाउनेछ, चाहे त्यसले सयौं घरधुरी विस्थापित किन नहोस् ।
“कागज अनुसार काम फत्ते गर्नुलाई नै बहादुरी ठानिन्छ, विध्वंसलाई समेत प्रदर्शन बनाइन्छ,” उनले उल्लेख गरेका छन् । यसको विपरीत विवेकी नेतृत्वले भने जनताको दु:ख पीडा बुझ्ने, संवाद गर्ने र दीर्घकालीन हितलाई ध्यानमा राख्ने राउतको भनाइ छ ।
त्यस्तो नेतृत्वले आवश्यक परे नक्सा परिवर्तन गरेर वैकल्पिक उपाय खोज्ने र जनतालाई कम क्षति पुग्ने समाधानतर्फ अघि बढ्ने उनले बताए । राउतले अन्त्यमा ट्रोल र आलोचना प्रति पनि प्रतिक्रिया दिँदै आफूहरू टिप्पणी वा भीडको दबाबमा नभई अन्तरात्माको आवाज अनुसार बोल्ने गरेको उल्लेख गरेका छन् । “आज नबोले इतिहासले के भन्ला भन्ने चिन्ता हामीलाई बढी छ,” उनले भनेका छन् ।






