काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रधानमन्त्री बालेन्द्र शाहले संविधान छलेर देशमा सैनिक शासनको अभ्यास गर्न खोजेको गम्भीर आरोप लगाएका छन् । आइतबार सिरहाको गोलबजारमा आयोजित कार्यक्रममा बोल्दै साहले वर्तमान सरकारले विधि र प्रक्रिया मिचेर सेनाको बलमा शासन लाद्न खोजेको दाबी गरे ।
उनले शीतल निवासमा शपथ लिँदा धार्मिक गुरुहरू बोलाएर मन्त्रोच्चारण गर्ने बालेनले सत्तामा पुगेको महिना दिन नपुग्दै मन्दिर र गुम्बा भत्काएको भन्दै कडा आलोचना गरे । ‘शपथमा मन्त्र पढ्ने तर अहिले मन्दिर र गुम्बा भत्काउने’ भन्दै उनले बालेनको नियतमाथि प्रश्न उठाए ।
सुकुम्बासी बस्ती खाली गराउन सेना परिचालन गर्ने सरकारी सूचना जारी हुनुले कतै सैनिक शासनको पूर्वाभ्यास त भइरहेको छैन भन्ने आशंका उब्जिएको उनले बताए । पुराना दलको विकल्पमा आएको रास्वपा अहिले उल्टो बाटोमा हिँडेको उल्लेख गर्दै साहले बालेनको उदय र रास्वपाको पतन सँगसँगै हुने टिप्पणी गरे ।
विकल्प विना नै हजारौँ जनतालाई विस्थापित बनाइनु मानव अधिकारको उल्लंघन भएको भन्दै उनले सरकार देश बनाउन नभई बिगार्न आएको टिप्पणी गरे । संसद् छलेर अध्यादेशमार्फत शासन चलाउनु लोकतन्त्रको उपहास भएको भन्दै साहले अब निर्णायक आन्दोलनमार्फत नयाँ पद्धति स्थापित गर्नुपर्नेमा जोड दिए ।






