पश्चिम नवलपरासी । नेपाली कांग्रेसका स्थानीय नेता एवम् प्रतापपुर गाउँपालिकाका खेलकुद संयोजक राजुप्रसाद अधिकारीले पार्टीभित्रको चरम गुटबन्दी र स्थानीय तहको योजनाविहीन कार्यशैली प्रति असन्तुष्टि जनाउँदै आफ्ना सबै जिम्मेवारीबाट राजीनामा दिए ।
२०४६ सालको जनआन्दोलनदेखि पार्टीमा निरन्तर इमानदार कार्यकर्ताका रूपमा सक्रिय अधिकारीले नेपाली कांग्रेसको उप-सभापति, कार्यवाहक सभापति र क्रियाशील सदस्यसहित गाउँपालिकाको खेलकुद संयोजक पदबाट पनि राजीनामा दिए ।
पार्टीको प्रदेश कार्यसमितिलाई बुझाइएको राजीनामा पत्रमा अधिकारीले हाल पार्टीभित्र ‘फोहोर राजनीतिक खेल र चरम गुटबन्दी’ हाबी भएको र एकले अर्कालाई समाप्त पार्ने घृणित कार्य भइरहेकाले त्यस्तो अवस्थामा सहभागी भइरहन आफ्नो अन्तरात्माले नमानेको उल्लेख गरे ।
यस्तै, प्रतापपुर गाउँपालिकाको खेलकुद संयोजकको रूपमा जिम्मेवारी पाएपनि पालिकाले खेलकुद सञ्चालनका लागि कुनै स्पष्ट दिशानिर्देश वा कार्यविधि तयार नगरेको र काम गर्ने वातावरण नभई पद ओगटेर बस्नुको औचित्य नरहेकाले आफूले सो पद त्यागेको उनले स्पष्ट पारेका छन् ।






