काठमाडौं । सरकारी अस्पतालका गोदाममै नौ करोड सात लाख १७ हजार रुपैयाँ बराबरको औषधीको म्याद सकिएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमा सरकारी असपताल र स्वास्थ्य संस्थामा रहेको करोडौँको औषधीको म्याद सकिएको उल्लेख गरिएको छ ।
प्रतिवेदनअनुसार, स्वास्थ्य सेवा विभागले खरिद गरेको २८ प्रकारका औषधीको म्याद सकिएको पाइएको हो । जसको मूल्य चार करोड ७२ लाख २० हजार रहेको छ । त्यस्तै, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले किनेका ६ प्रकारका औषधीको पनि म्याद सकिएको छ । यसको मूल्य ४७ लाख ७० हजार रुपैयाँ रहेको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) ले खरिद गरेका ६०१ प्रकारका औषधीको पनि म्याद सकिएको पाइएको छ । जसको मूल्य एक करोड ४३ लाख ७५ हजार रुपैयाँ रहेको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले खरिद गरेको एक करोड १९ लाख ९६ हजार रुपैयाँ बराबरको औषधीको पनि म्याद सकिएको छ । यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भएको एक करोड २३ लाख ५६ हजार रुपैयाँ बराबरको औषधीको पनि म्याद सकिएको प्रतिवेदनमा उल्लेख छ ।
स्वास्थ्य संस्थाले आपूर्तिकर्ताबाट खरिद गरेको औषधीको म्याद समाप्त भएमा, टुटेफुटेमा वा बिक्री नगरी अधिक मौज्दान रहेमा सम्झौताको शर्तअनुसार, उक्त औषधी आपूर्तिकर्ताबाट प्रतिस्थापन गर्नुपर्छ । तर, सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाले प्रतिस्थापन नगर्दा गोदाममै म्याद सकिएको पाइएको महालेखाले औँल्याएको छ ।






