वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह पर्सा जिल्ला अदालतको आदेशपछि धरौटीमा रिहा भएका छन् । मंगलबार अदालतमा उपस्थित गराइएका सिंहलाई न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले चार लाख १५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
अदालतका अनुसार लिखतसम्बन्धी कसुर मुद्दामा चार लाख रुपैयाँ र झुट्टा विवरण पेस गरी नागरिकता प्राप्त गरेको आरोपसँग सम्बन्धित मुद्दामा १५ हजार रुपैयाँ गरी कुल चार लाख १५ हजार रुपैयाँ धरौटी निर्धारण गरिएको हो ।
नगरप्रमुख सिंहमाथि झुट्टा विवरणका आधारमा नागरिकता लिएको तथा लिखत किर्ते गरेको आरोप लगाइएको छ । उक्त मुद्दामा सिंहसँगै उनकी पत्नी रिता भट्टराई र वीरगञ्ज ३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायलाई पनि प्रतिवादी बनाइएको छ ।
स्थानीय लियाकत अलीको जाहेरीका आधारमा दर्ता भएको मुद्दामा नेपाल सरकार वादी रहेको छ । मुद्दाको सुनुवाइका क्रममा नगरप्रमुख सिंहका तर्फबाट वरिष्ठ अधिवक्ता रामेश्वर सेढाईसहित कानुन व्यवसायीहरूले बहस गरेका थिए भने जाहेरवालाको पक्षबाट अधिवक्ता चन्द्रिका पटेललगायतले बहस गरेका थिए ।
सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता मनोजकुमार गुप्ताले बहस गरेका थिए । प्रहरीका अनुसार सिंहविरुद्ध लिखत किर्तेसम्बन्धी मुद्दामा गत जेठ ८ गते पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि जेठ १२ गते पुन: पक्राउ अनुमति लिइएको थियो ।
मंगलबार ठोरी क्षेत्रबाट नियन्त्रणमा लिइएका सिंहलाई अदालतमा उपस्थित गराइएको थियो । अदालतको आदेशपछि आवश्यक धरौटी बुझाएर उनी रिहा भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उक्त मुद्दामा थप अनुसन्धान तथा कानुनी प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ ।






