रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रौतहटको प्रथम जिल्ला अधिवेशन अन्तर्गत सोमबार तय गरिएको निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित गरिएको छ । निर्वाचन प्रक्रियामा देखिएका विवाद, सुरक्षा चुनौती तथा निष्पक्षतामाथि उठेका प्रश्नलाई आधार बनाएर निर्वाचन रोक्न माग गरिएको हो ।
अधिवेशनसँग सम्बन्धित पक्षहरूले आइतबार निर्वाचन आयोगलाई पत्र बुझाउँदै प्रतिनिधि छनोटदेखि उम्मेदवारी दर्तासम्मका प्रक्रियामा विभिन्न समस्या देखिएको उल्लेख गरेका छन् ।
पत्रमा जिल्लाका केही पालिकामा प्रतिनिधि छनोट प्रक्रियामै विवाद उत्पन्न भएको, पारदर्शिताको अभाव रहेको तथा उद्घाटन सत्रमै झडप हुन सक्ने अवस्था सिर्जना भएको दाबी गरिएको छ ।
त्यस्तै, निर्वाचन संयोजक तथा निर्वाचन मण्डलका सदस्यहरू मतदान स्थलमा प्रत्यक्ष उपस्थित हुन नसकेको र उम्मेदवारी मनोनयन समेत ह्वाट्सएपमार्फत गराउनुपरेको अवस्थालाई पत्रमा गम्भीर विषयका रूपमा उठाइएको छ । अन्तिम मतदाता नामावली सार्वजनिक गर्नसमेत उपयुक्त वातावरण नरहेको उल्लेख गरिएको छ ।
निर्वाचन स्थगनको मागसहित बुझाइएको पत्रमा रौतहट क्षेत्र नम्बर १ का सांसद राजेश चौधरी, क्षेत्र नम्बर ३ का सांसद रवीन्द्र पटेल, क्षेत्र नम्बर ४ का सांसद गणेश पौडेल तथा गजला शमीम मिकरानीको हस्ताक्षर रहेको छ ।
साथै संगठन विभाग सदस्य उदय नारायण सापकोटा, रौतहट २ का प्रतिनिधिसभा सदस्यका पूर्व उम्मेदवार शेख सागिर र श्रम विभाग सदस्य मोहम्मद शेख सनाउल्लाह लगायतले पनि पत्रमा समर्थन जनाएका छन् ।
यता अधिवेशनमा सहभागी केही नेता तथा प्रतिनिधिहरूले भने निर्वाचन स्थगनको मागप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले प्रतिनिधिहरूको मतबाट नेतृत्व चयन हुने लोकतान्त्रिक प्रक्रियामा हस्तक्षेप गर्ने उद्देश्यले निर्वाचन रोक्न खोजिएको आरोप लगाएका छन् ।
रौतहट जिल्ला अध्यक्ष पदका लागि प्रदीप साह, अजय साह, रवीन्द्र यादव, राजेश चौधरीलगायत १० जना आकांक्षी मैदानमा देखिएपछि नेतृत्व चयनलाई लिएर प्रतिस्पर्धा तीव्र बनेको थियो ।
यसअघि निर्वाचन मण्डलले आइतबार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको थियो भने सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने कार्यतालिका सार्वजनिक गरेको थियो ।
निर्वाचन स्थगनसँगै अधिवेशनको आगामी प्रक्रिया र नयाँ कार्यतालिकाबारे पार्टीले औपचारिक निर्णय सार्वजनिक गर्न बाँकी रहेको छ ।






