सिरहा । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेश खारेज गर्ने एजेन्डा कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् । गणतन्त्र, सङ्घीयता र समावेशिताजस्ता संविधानले सुनिश्चित गरेका उपलब्धिमाथि प्रहार भए जसपा नेपाल चुप लागेर नबस्ने चेतावनी पनि उनले दिएका छन् ।
सिरहाको लहानमा शुक्रबार जसपा नेपाल जिल्ला समितिले आयोजना गरेको अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई विचारविहीन पार्टीको संज्ञा दिए । उनले जसपा नेपाल आफ्नो लक्ष्य पूरा नभएसम्म निरन्तर सङ्घर्षरत रहने पार्टी भएकाले एउटा चुनावमा पराजित हुँदैमा निराश नहुन नेता–कार्यकर्तालाई आग्रह गरे ।
यादवले पार्टी संगठनलाई गाउँदेखि जिल्लासम्म पुनर्गठन गर्दै आगामी राजनीतिक सङ्घर्षका लागि तयारी अवस्थामा रहन निर्देशन दिए । गत निर्वाचनमा पार्टीलाई धोका दिने नेता–कार्यकर्तालाई अब पार्टीमा कुनै स्थान र महत्त्व दिन नहुने उनको भनाइ थियो । इमानदार युवा, महिला र दलितलाई नेतृत्वमा प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।
सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्नुपर्ने उल्लेख गर्दै उनले पार्टीका विचार र एजेन्डालाई जनतामाझ पुर्याउन नेता–कार्यकर्ता सक्रिय हुनुपर्ने बताए । सामाजिक सञ्जालमा आफैं सामग्री लेख्न नसक्नेले पनि पार्टीका नेताहरूका धारणा लाइक, शेयर र प्रचार गर्न सक्ने उनले बताए ।
आगामी स्थानीय तथा प्रदेश निर्वाचनको तयारी अहिलेबाटै सुरु गर्नुपर्ने भन्दै यादवले वर्गीय समानता, समाजवाद र सामाजिक न्यायका मुद्दा जनस्तरसम्म पुर्याउन सबै नेता–कार्यकर्ता सक्रिय हुनुपर्ने बताए । देशको राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै उनले विगत ३४ वर्षमा ३० वटा सरकार फेरिए पनि जनताको जीवनमा अपेक्षित सुधार आउन नसकेको दाबी गरे ।
व्यवस्था परिवर्तन भएपनि जनजीवनमा परिवर्तनको अनुभूति हुन नसकेकै कारण पुराना राजनीतिक दलप्रति जनविश्वास घट्दै गएको उनको भनाइ थियो । सुशासन, विकास, सामाजिक न्याय तथा गणतन्त्र र सङ्घीयताको रक्षाका लागि जसपा नेपाल एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको उनले बताए ।
कार्यक्रममा जिल्ला तहका नेता–कार्यकर्ताले पनि पछिल्लो निर्वाचनमा पार्टीले भोगेको हारबारे समीक्षा गरेका थिए । उनीहरूले मधेश सरकारमा पार्टीको नेतृत्व हुँदा जनअपेक्षाअनुसार काम हुन नसकेको, विशेष गरी किसानमुखी कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न नसकिएको भन्दै आत्मसमीक्षा गरेका थिए ।






