रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मुलुक गम्भीर संकटतर्फ उन्मुख भएको भन्दै राष्ट्रिय हितका लागि संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले सभामुखमार्फत सरकारलाई संसदमा रहेका सबै दलबीच सहकार्य र राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्न आग्रह गरे । उनले दलगत स्वार्थभन्दा माथि उठेर साझा राष्ट्रिय एजेन्डा तय गर्नुपर्नेमा जोड दिए ।
उनले सबै राजनीतिक दललाई एकताबद्ध भएर देश र जनताको हितमा काम गर्न आग्रह गर्दै, त्यसबाट मात्रै राज्य र लोकतन्त्रलाई सुदृढ बनाउन सकिने बताए । सांसद सिंहले मुलुकमा बढ्दो निराशा प्रति चिन्ता व्यक्त गर्दै संसद्बाट नै नागरिकमा आशा र विश्वास जगाउने वातावरण सिर्जना गर्नुपर्ने धारणा राखे ।
आरोप–प्रत्यारोप र घोचपेचको राजनीतिले जनतामा थप निराशा फैलाउने भएकाले त्यसबाट सबै दल सचेत हुनुपर्ने उनको भनाइ थियो । “राज्य र जनता सुरक्षित रहे मात्रै राजनीति सम्भव हुन्छ । देशमा केही गर्न सकिँदैन भन्ने निराशाको भाष्य संसद्बाट निर्माण गर्नु हुँदैन,” उनले भने ।
यसै सन्दर्भमा उनले हालै आत्मदाह प्रयासपछि ज्यान गुमाएका एक व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यस्ता घटनाले मुलुकको वर्तमान अवस्था गम्भीर रहेको संकेत गरेको बताए । सांसद सिंहले राष्ट्रिय एकता, लोकतन्त्रको संरक्षण र नागरिकको विश्वास पुन:स्थापित गर्न सबै राजनीतिक दलले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।






