रौतहट । रौतहटस्थित जिल्ला भन्सार कार्यालय गौरले आर्थिक वर्ष २०८२/८३ मा राजस्व संकलनदेखि चोरी निकासी तथा पैठारी नियन्त्रणसम्म उल्लेखनीय सफलता हासिल गरेको छ । कार्यालयले निर्धारित लक्ष्यलाई उल्लेखनीय रूपमा उछिन्दै रु ४६ करोड ९९ लाख राजस्व संकलन गरेको छ ।
कार्यालयका प्रमुख विकासकुमार रजकका अनुसार गत आर्थिक वर्षका लागि रु ३३ करोड २९ लाख राजस्व संकलन गर्ने लक्ष्य तोकिएको थियो । तर प्रभावकारी अनुगमन, राजस्व चुहावट नियन्त्रण, आयात कारोबारमा वृद्धि र सेवा प्रवाहमा सुधारका कारण लक्ष्यभन्दा रु १३ करोड ७० लाख बढी अर्थात् ४१.१४ प्रतिशत अतिरिक्त राजस्व संकलन गर्न सफल भएको उनले बताए ।
मासिक विवरणअनुसार साउनमा २ करोड ७७ लाख, भदौमा २ करोड ४७ लाख, असोजमा २ करोड २८ लाख, कात्तिकमा र २ करोड २६ लाख, मङ्सिरमा ४ करोड ३७ लाख, पुसमा र ५ करोड ६२ लाख, माघमा ३ करोड ३६ लाख, फागुनमा २ करोड ७९ लाख, चैतमा ४ करोड ७३ लाख, वैशाखमा ५ करोड २३ लाख, जेठमा ५ करोड २१ लाख र असारमा ५ करोड ९४ लाख राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
राजस्व संकलनसँगै सीमाक्षेत्रमा हुने चोरी निकासी तथा पैठारी नियन्त्रणमा पनि गौर भन्सारले उल्लेखनीय उपलब्धि हासिल गरेको छ । कार्यालयका अनुसार भन्सार गस्ती टोलीले आर्थिक वर्षभरि ११ लाख २६ हजार ६९४ बराबरका २२ वटा मुद्दा दर्ता गरेको छ ।
यस्तै, सशस्त्र प्रहरी बल, नेपालले ४ करोड ५ लाख १९ हजार ११० बराबरका ४८१ वटा तथा नेपाल प्रहरीले ५ करोड ५५ लाख १८ हजार १०६ बराबरका १५१ वटा चोरी निकासी तथा पैठारीसम्बन्धी मुद्दा दर्ता गराएको जनाएको छ ।
कार्यालयले जफत गरिएका अवैध मालवस्तु तथा सवारी साधनको व्यवस्थापनबाट समेत उल्लेखनीय आम्दानी गरेको छ । कार्यालयका अनुसार १ करोड ६९ हजार ६७४ बराबरका मालवस्तु र १ करोड ३३ लाख १४ हजार ९७५ बराबरका सवारी साधन लिलाम बिक्री गरी थप राजस्व संकलन गरिएको छ ।
प्रमुख रजकले सीमाक्षेत्रमा निगरानी सुदृढ बनाउनु, सुरक्षा निकायसँगको समन्वय प्रभावकारी हुनु तथा राजस्व चुहावट नियन्त्रणमा अपनाइएका रणनीतिका कारण यो उपलब्धि सम्भव भएको बताए । गौर भन्सार कार्यालयले हासिल गरेको यो नतिजा राजस्व संकलन र अवैध व्यापार नियन्त्रण दुवै क्षेत्रमा उदाहरणीय उपलब्धिका रूपमा हेरिएको छ ।






