सिरहा । निर्वाचित भएपछि राजधानीमै सीमित हुने राजनीतिक परम्परालाई तोड्ने प्रयासस्वरूप सिरहाबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्यहरू यतिबेला गाउँ गाउँ पुगेर नागरिकका गुनासा, सुझाव र स्थानीय समस्याबारे प्रत्यक्ष संवादमा जुटेका छन् ।
सिरहा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य डा. शम्भु कुमार यादव, क्षेत्र नम्बर ४ का इ. तपेश्वर यादव, क्षेत्र नम्बर २ का शिव यादव, क्षेत्र नम्बर १ का बब्लु गुप्ता तथा समानुपातिक सांसद पुरुषोत्तम यादव पछिल्लो एक सातादेखि आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रम सञ्चालन गर्दै स्थानीयसँग प्रत्यक्ष भेटघाट गरिरहेका छन् ।
रास्वपाका स्थानीय कार्यकर्ताका अनुसार निर्वाचनका बेला गरिएको ‘जनताको घरदैलोमै पुगेर गुनासा सुन्ने’ प्रतिबद्धता कार्यान्वयन गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो । अभियानअन्तर्गत सांसदहरू विद्यालय, स्वास्थ्य संस्था, सरकारी कार्यालय तथा बस्तीस्तरमा पुगेर सेवा प्रवाह र विकास निर्माणको अवस्थाबारे जानकारी लिइरहेका छन् ।
रास्वपा गोलबजार नगर समितिका सभापति धनेश्वर यादवले चुनावअघि गरिएको प्रतिबद्धताअनुसार नागरिकसँग निरन्तर संवाद गर्दै उनीहरूका समस्या समाधानका लागि सम्बन्धित निकायसँग आवश्यक पहल गरिने बताए ।
त्यसैगरी, रास्वपा गोलबजार नगर समितिका सचिव सन्तोष साहले निर्वाचनपछि नेताहरू नागरिकको पहुँचबाट टाढिने विगतको प्रवृत्तिलाई परिवर्तन गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको बताए । उनका अनुसार जनतासँगको प्रत्यक्ष संवादले नागरिक र निर्वाचित जनप्रतिनिधिबीचको दूरी घटाउने अपेक्षा गरिएको छ ।
प्रतिनिधिसभा सदस्य डा. शम्भु कुमार यादवले वडा–वडामा आयोजित संवाद कार्यक्रममा शिक्षा, खानेपानी, सिँचाइ, स्वास्थ्य सेवा तथा विकास निर्माणसँग सम्बन्धित विषयहरू प्रमुख रूपमा उठेको बताए । उनले नागरिकबाट प्राप्त सुझाव र गुनासालाई सम्बन्धित निकायसँग समन्वय गरी समाधानका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गरे ।
रास्वपाका जिल्ला कार्यसमिति सचिव रमेश यादवका अनुसार सिरहा नगरपालिकाबाट सुरु गरिएको ‘जनता भेटघाट तथा सुझाव संकलन’ अभियान क्षेत्र नम्बर ३ अन्तर्गतका गोलबजार नगरपालिका, विष्णुपुर गाउँपालिका, अर्नमा गाउँपालिका लगायतका ४१ वटै वडामा सञ्चालन भइरहेको छ ।
उनले अभियानका क्रममा पूर्वाधारको अवस्था अवलोकन गर्नुका साथै स्थानीयसँग प्रत्यक्ष छलफल गरिएको जानकारी दिए । नागरिकसँगको संवादबाट विकास निर्माण, सेवा प्रवाहमा देखिएको ढिलासुस्ती तथा बेथितिबारे सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्दै समाधान खोजिने उनले बताए ।
पछिल्लो एक सातादेखि सञ्चालन भइरहेको यो अभियानलाई निर्वाचित जनप्रतिनिधि र नागरिकबीचको सम्बन्ध थप सुदृढ बनाउने प्रयासका रूपमा हेरिएको छ ।






