सिरहा । सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवको गाउँमा शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रदर्शन गरिएको छ ।
औरही गाउँपालिका २ तुलसियाहीका स्थानीय, मृतकका आफन्त तथा छिमेकीहरू बनिनिया चोकमा भेला भई प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् । उनीहरूले दोषीमाथि कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै विभिन्न प्लेकार्डसमेत प्रदर्शन गरेका थिए ।
स्थानीयका अनुसार सुनसरी घटनाको विरोधमा बिहीबार गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो । उक्त घटनापछि स्थानीयवासी आक्रोशित बनेका छन् ।
शुक्रबार गृहमन्त्री सुधन गुरुङ मृतकका परिवारलाई भेट्न गाउँ आउने तयारीमा रहेको जानकारी पाएपछि स्थानीयले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही र पीडित परिवारलाई न्याय सुनिश्चित नभएसम्म गृहमन्त्रीलाई गाउँ प्रवेश गर्न नदिने चेतावनी दिएका छन् ।
घटनापछि गाउँमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अवस्था तनावपूर्ण रहेपनि स्थिति नियन्त्रणमा रहेको स्थानीय प्रशासनले जनाएको छ ।






