जनकपुरधाम । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले पछिल्ला दिनमा प्रदेशका विभिन्न स्थानमा देखिएको साम्प्रदायिक तनाव र हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्दै अभिभावकहरूलाई आफ्ना बालबालिका तथा युवालाई आन्दोलन, जुलुस र हिंसात्मक गतिविधिबाट टाढा राख्न आग्रह गरेका छन् ।
गृहमन्त्री महतोले अपिल जारी गर्दै सडक प्रदर्शन र भीडमा कलिला बालबालिकालाई नपठाउन आग्रह गरेको हो । उनले उनले बालबालिका तथा युवाको संलग्नता बढ्दै गएकोप्रति प्रदेश सरकार गम्भीर रहेको उल्लेख गरेका छन् । उनले कुनै पनि उक्साहट, अफवाह वा उत्तेजनामा परेर बालबालिकालाई हिंसात्मक गतिविधिमा सहभागी हुन नदिन अभिभावकसँग आग्रह गरेका छन् ।
अपिलमा अभिभावकलाई आफ्ना सन्तानको गतिविधिमा निगरानी राख्न, अनावश्यक रूपमा घरबाहिर नछाड्न तथा सामाजिक सञ्जालमा फैलिने भ्रामक र भड्काउ सूचनाप्रति सचेत रहन आग्रह गरिएको छ । क्षणिक आवेगमा चालिएको एउटा गलत कदमले जीवनभर पछुताउनुपर्ने अवस्था सिर्जना हुन सक्ने चेतावनी पनि दिइएको छ ।
मन्त्री महतोले अभिभावकको संरक्षण, मार्गदर्शन र सचेतनाले बालबालिकाको भविष्यसँगै परिवार, समाज र मधेश प्रदेशको शान्ति, सद्भाव तथा सामाजिक एकतालाई सुरक्षित राख्न सक्ने उल्लेख गरेका छन् । साथै शान्ति, धार्मिक सहिष्णुता र कानुनको पालनामा सबैले सक्रिय सहयोग गर्न उनले आह्वान गरेका छन् ।
अपिलको अन्त्यमा उनले आफ्ना सन्तानलाई भीड होइन शिक्षा, हिंसा होइन मानवता, द्वेष होइन सद्भाव र सहिष्णुताको बाटो रोज्न प्रेरित गरौं भन्ने सन्देश दिएका छन् ।






