सुनसरी । सुनसरीको देवानगञ्जमा भएको गोलीकाण्डमा घाइते भई उपचाररत अवस्थामा निधन भएका रबिन्द्र मेहताका परिवारजनसँग राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले भेट गरी समवेदना व्यक्त गर्नुभएको छ ।
मेहताको उपचारका क्रममा निधन भएको खबर पाएलगत्तै अध्यक्ष महतो त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर उहाँको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको हो ।
त्यसपछि उहाँ राष्ट्रिय ट्रमा सेन्टर पुगेर उक्त घटनामा घाइते भएका अमित यादव र बालक आनन्द दासको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो । पीडित परिवार र घाइतेहरूको भावनाअनुसार घटनाको सत्यतथ्य सार्वजनिक गर्न तत्काल उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने अध्यक्ष महतोले माग गर्नुभएको छ ।
साथै दोषीमाथि कडा कानुनी कारबाही गरी पीडित परिवारलाई पूर्ण न्याय सुनिश्चित गर्न सरकारसँग आग्रह गर्नुभएको छ । भेटका क्रममा अध्यक्ष महतोले भन्नुभयो, “दिवङ्गत रबिन्द्र मेहताप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।”






