रौतहट । रौतहटसँग सीमा जोडिएको भारतको बिहारस्थित मोतिहारीमा एकै परिवारका पाँच जनाको शव पोखरीमा फेला परेपछि घटनाले सनसनी मच्चाएको छ । एकै परिवारकी आमा र उनका चार सन्तानको शव भेटिएपछि मोतीहारी जिल्ला वभनौली पञ्चायत ६ शोकमा डुबेको हो ।
पोखरीबाट ३५ वर्षीया सुशीला देवी र उनका चार छोराछोरीको शव बरामद भएको हो । मृतक बालबालिकामा ११ वर्षीया अमृता, ८ वर्षीय अविनाश, ६ वर्षीया पम्मी र ४ वर्षीय रवि कुमार रहेका छन् । शनिबार पाँचै जनाको शव घरबाट एकैपटक उठेपछि गाउँको वातावरण स्तब्ध बनेको थियो ।
अन्तत: परिवारजन तथा स्थानीयले पोष्टमार्टम पछी पाँचै जनाको एउटै चितामा अन्त्येष्टि गरेका छन् । घटनापछि मृतक सुशीला देवीका माइती पक्षले गम्भीर आरोप लगाएका छन् । सुशीलाका भाइ प्रताप मठियाका श्यामनन्दन महतोले गोविन्दगञ्ज थानामा दिएको निवेदनमा आफ्नी बहिनी र उनका चार सन्तानको हत्या गरिएको दाबी गरेका छन् ।
उनका अनुसार सुशीलालाई विवाहपछि दाइजोको विषयलाई लिएर लामो समयदेखि मानसिक तथा शारीरिक यातना दिइँदै आएको थियो । दाइजोका लागि प्रताडित गरेपछि सुशीला र उनका चार सन्तानको हत्या गरी शव पोखरीमा फालिएको हुन सक्ने उनको आरोप छ ।
घटनालाई प्रहरीले गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाएको छ । मृतक सुशीलाका श्रीमान धर्मेन्द्र महतोसहित आठ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीले धर्मेन्द्रलाई नियन्त्रणमा लिएर घटनाबारे सोधपुछ तथा अनुसन्धान अघि बढाएको छ ।
घटनामा संलग्न अन्य व्यक्तिको भूमिकाबारे समेत प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । पाँचै जनाको मृत्युको वास्तविक कारण, मृत्युको प्रकृति र शव पोखरीसम्म कसरी पुग्यो भन्ने विषयमा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।
एकै परिवारका पाँच जनाको शव एउटै पोखरीबाट भेटिनु र त्यसपछि पाँचै जनाको एउटै चितामा अन्त्येष्टि गरिनुले घटनालाई थप रहस्यमय बनाएको छ । मृत्यु हत्या हो वा अन्य कुनै कारणबाट भएको हो भन्ने विषय भने अनुसन्धानकै क्रममा छ ।
पोस्टमार्टम रिपोर्ट तथा प्रहरी अनुसन्धानबाट घटनाको वास्तविकता बाहिर आउने अपेक्षा गरिएको छ । तर पाँच जनाको एकैपटक भएको मृत्युले मोतिहारीमा दाइजो प्रथा, घरेलु हिंसा र महिलामाथि हुने यातनाको विषयलाई पुन: गम्भीर रूपमा उठाएको छ ।






