काठमाडौं । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विष्फोटमा परेर ज्यान गुमाउने नेपालीको संख्या चार पुगेको छ । बेपत्ता भएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिम जोरकाफलका ५० वर्षीय रत्न राईको पनि मृत्यु भएको पुष्टि भएको हो ।
यही माघ २२ गते मेघालयको पूर्वी जयन्तिया हिल्समा रहेको अवैध कोइलाखानीमा विष्फोट हुँदा खोटाङकै बराहपोखरी गाउँपालिका १ बराहपोखरी सालघारीका २७ वर्षीय पूर्णबहादुर खपाङ्गी, २४ वर्षीय सुरेन्द्र खपाङ्गी र ३५ वर्षीय नरबहादुर खपाङ्गीको यसअघि नै मृत्यु भएको पुष्टि भइसकेको थियो ।
विष्फोटमा परेका बराहपोखरी सालघारीकै ४६ वर्षीय कर्णबहादुर खपाङगी, बराहपोखरी भञ्ज्याङका ४० वर्षीय बमहादुर खपाङ्गी र उदयपुर साउनेका ४० वर्षीय ललित मगर गम्भीर घाइते छन् । उनीहरु रोजगारी खोज्दै गत पुस ३ गते मेघालय गएका थिए ।






