काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश सिंहले पार्टीका सांसदहरूले कुटाइ खाने दिन आउन लागेको दाबी गरेका छन् । पार्टी सभापति रवि लामिछानेले बोलाएको मन्त्री र सांसदबीचको सामूहिक छलफलमा सिंहले यस्तो धारणा राखेका हुन् ।
नेपाली कांग्रेसका सभापति गगन थापालाई सर्लाही ४ बाट पराजित गरेर चर्चामा आएका सांसद सिंहले तराई–मधेसमा रहेका रास्वपाका सांसदले छठ पर्वपछि जनताको आक्रोश सामना गर्नुपर्ने दाबी गरेका छन् । बैठकमा सिंहले आफूलाई एक साताको समय दिए सरकारले गरेका १०० वटा गल्ती देखाइदिन सक्ने बताएका थिए ।
“मलाई एक हप्ता दिनुहोस्, म सरकारका १०० गल्ती निकालिदिन्छु,” बैठकमा सिंहको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, “मधेसमा त छठ पर्व सकिएपछि रास्वपाका सांसदले पिटाइ खाने दिन आउँदैछन् ।” तिहारपछि तराई–मधेससहित देशका विभिन्न क्षेत्रमा हिन्दु धर्मावलम्बीहरूले सूर्यको उपासना गर्दै छठ पर्व हर्षोल्लासका साथ मनाउने गर्छन् ।
पछिल्लो समय सांसद सिंह आफ्नै पार्टी नेतृत्व तथा बालेन्द्र नेतृत्वको सरकारप्रति असन्तुष्ट देखिँदै आएका छन् । उनले विभिन्न विषयमा सार्वजनिक रूपमा विवादास्पद अभिव्यक्ति दिँदै आएपछि पार्टीभित्रै उनको भूमिकालाई लिएर चर्चा हुने गरेको छ ।






