रौतहट । भोटेकोसी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि नेपाली कम्युनिस्ट पार्टी संसदीय दल, मधेस प्रदेशले विपद्मा परेका नागरिकको खोज, उद्धार तथा राहत कार्यमा सक्रिय हुन सबै पक्षलाई अपिल गरेको छ ।
संसदीय दलले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन राज्यका निकायसँगै नागरिक समाज, निजी क्षेत्र र आम नागरिकको भूमिका महत्वपूर्ण हुने जनाएको छ ।
दलले मधेस प्रदेशका बुद्धिजीवी, उद्यमी, व्यवसायी, समाजसेवी तथा सञ्चारकर्मीलाई प्रभावित क्षेत्रमा आवश्यक सहयोग पुर्याउन आग्रह गरेको छ । विपद् व्यवस्थापनमा आफ्नोतर्फबाट योगदान गर्ने निर्णय गर्दै नेपाली कम्युनिस्ट पार्टीबाट मधेस प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरूको एक दिन बराबरको तलब प्रदेशसभामार्फत केन्द्रीय विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरिएको छ ।
राहतमा राजनीति होइन, सहकार्य आवश्यक
भोटेकोसी बाढीले पुर्याएको क्षतिले विपद् व्यवस्थापनमा तत्काल उद्धारसँगै दीर्घकालीन तयारीको आवश्यकता पनि औँल्याएको छ । यस्तो संकटका बेला राजनीतिक दल तथा सरकारी निकायबीच समन्वय कमजोर भए राहत प्रभावितसम्म पुग्न ढिलाइ हुन सक्छ ।
प्रदेशसभा सदस्यहरूको एक दिनको तलब सहयोग गर्ने निर्णय आर्थिक रूपमा ठूलो रकम नहुन सक्छ । तर, विपद्को समयमा राज्य र राजनीतिक नेतृत्वको जवाफदेहिता तथा ऐक्यबद्धताको प्रतीक बन्न सक्ने दलको भनाइ छ ।
अहिलेको प्राथमिकता प्रभावित नागरिकको उद्धार, बेपत्ताको खोजी, घाइतेको उपचार र विस्थापितलाई सुरक्षित व्यवस्थापन गर्नु रहेको दलले जनाएको छ । नेपाली कम्युनिस्ट पार्टीले विपद्को घडीमा सरकार, राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र तथा सञ्चारमाध्यमबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिएको छ ।






