रौतहट । मधेस प्रदेशका पूर्वअर्थमन्त्री तथा संविधानसभा सदस्य सुनिलकुमार यादव (जितेन्द्र) को पहलमा रौतहटमा निर्माण सम्पन्न भएका पाँचवटा विकास योजनाको एकैपटक उद्घाटन गरिएको छ । कटहरिया नगरपालिका १ भसेढवामा निर्माण सम्पन्न भएका ती योजनाको शुक्रबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो ।
पूर्वप्रदेश सांसद कुन्दन कुशवाहाको सक्रियता तथा तत्कालीन अर्थमन्त्री यादवको पहलमा प्रदेश सरकारबाट बजेट व्यवस्थापन गरी ती योजनाहरू निर्माण गरिएको जनाइएको छ ।
आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न भएका योजनाअन्तर्गत १६ लाख रुपैयाँको खुला व्यायामशाला, १२ लाख रुपैयाँको नागरिक आरोग्य भवन, १२ लाख रुपैयाँको योग भवन, १६ लाख रुपैयाँको दलित भवन र १२ लाख रुपैयाँको स्वास्थ्य चौकी भवन स्तरोन्नति रहेका छन् ।
निर्माण सम्पन्न भएका संरचनाको उद्घाटन वडा नम्बर १ का अध्यक्ष भूपेन्द्र महतो कोइरी र वडा नम्बर ४ का अध्यक्ष चन्दन कुशवाहाले संयुक्त रूपमा गरेका हुन् ।
उद्घाटन कार्यक्रममा वडा अध्यक्ष भूपेन्द्र महतो कोइरीले निर्माण भएका संरचनाको संरक्षण तथा प्रभावकारी सदुपयोगमा स्थानीयवासीको भूमिका महत्वपूर्ण हुने बताए । सार्वजनिक लगानीबाट निर्माण भएका संरचनालाई समुदायको आवश्यकता र हितअनुसार प्रयोग गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ४ का अध्यक्ष चन्दन कुशवाहाले विकास योजना ल्याउन पूर्वप्रदेश सांसद कुन्दन कुशवाहाको पहल तथा तत्कालीन अर्थमन्त्री सुनिलकुमार यादव (जितेन्द्र)को सक्रिय भूमिकाको प्रशंसा गरे ।
उनले विशेष गरी खुला व्यायामशाला र योग भवनलाई स्थानीय नागरिकले नियमित रूपमा प्रयोग गर्न आग्रह गरे । एकै स्थानमा स्वास्थ्य, योग, व्यायाम तथा सामाजिक प्रयोजनका लागि आवश्यक पूर्वाधार निर्माण हुनु स्थानीय बासिन्दाका लागि उपयोगी हुने अपेक्षा गरिएको छ ।
स्वास्थ्य चौकीको स्तरोन्नतिसँगै नागरिक आरोग्य, योग तथा व्यायामसम्बन्धी संरचना निर्माण हुँदा भौतिक पूर्वाधारसँगै स्वास्थ्य र सामाजिक विकासलाई समेत जोड्ने प्रयास भएको देखिन्छ ।
यद्यपि, निर्माण भएका संरचनाको प्रभावकारी उपयोगका लागि नियमित सञ्चालन, संरक्षण तथा स्थानीय समुदायको सहभागिता महत्वपूर्ण हुने देखिन्छ । कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो ।




